मुख्यमन्त्री राउतलाई प्रचण्डको चेतावनी : ओभरटेक नगर्नुस् , दुर्घटना हुन्छ

 कात्तिक ६, २०७५ मंगलबार १७:५६:५३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री राउतलाई ओभरटेक नगर्न चेतावनी दिनुभएको छ । 

नेकपा प्रदेश २ ले जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान र प्रदेश पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले मुख्यमन्त्री राउतलाई यस्तो चेतावनी दिनुभएको हो ।
 
कार्यक्रममा मुख्यमन्त्री राउतले सम्बोधनको क्रममा प्रदेश २ सरकारलाई संघीय सरकारले असहयोग गरिरहेकाले करारमै भए पनि ५ हजार कर्मचारी भर्ना गर्न करार भर्ना कर्मचारी ऐन पास गर्ने चेतावनी दिनुभएको थियो । त्यसपछि प्रचण्डले केही दिनअघि प्रदेश २ सरकारले संघीय सरकारलाई उछिन्ने गरी ल्याएको प्रदेश प्रहरी ऐन र मुख्यमन्त्रीको भनाईप्रति चेतावनी दिँदै भन्नुभयो, ‘मुख्यमन्त्रीज्यू, तपार्इँ ओभरटेक गर्न चाहनुभयो भने  दुर्घटनाको खतरा हुन्छ । म तपार्इँको मागप्रति गम्भीर छु । संवेदनशील छु । तर ओभरटेक नगर्नुस् ।’
 
राष्ट्रिय एकताले मात्र मधेशी जनताको समृद्धि, विकास, सम्मान, अधिकार र पहिचान स्थापित हुने भन्दै प्रचण्डले विखण्ड र अतिवादले देश बर्बाद मात्र हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुर्घटना हुने गरी अगाडि नबढौँ, दुर्घटना हुने गरी अगाडि बढ्नु बुद्धिमता होइन, मुर्खता हो ।’
 
प्रचण्डले संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेको दावी गर्दै समयअनुकुल मधेशी जनताको माग बमोजिम संविधान संशोधन गरेर विकास र समृद्धिको दिशातर्फ देशलाई अगाडि बढाउने जोड दिनुभयो ।  
 
प्रदेश २ सुनको टुक्रा भएको बताउँदै प्रचण्डले यस प्रदेशमा सिंचाइको मात्र व्यवस्था हुनसके देशले नै धान्न सक्ने अन्न उत्पादन हुने बताउनुभयो । आफ्नो पार्टी नेकपा र संघीय सरकार प्रदेश २ लाई प्राथमिकतमा राखेर अगाडि बढेकाले प्रदेश २ चाँडै विकासको गति लिने प्रचण्डको भनाई छ ।
 
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव विष्णु पौडेलले मुख्यमन्त्री राउतलाई इंगित गर्दै संघीय सरकारलाई गाली गर्नुभन्दा विकास र समृद्धिका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो । संघीय सरकार र प्रदेश सरकार एकअर्काको शत्रु नभई मित्रवत व्यवहार गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश २ को शत्रु भनेको यहाँको गरिबी हो, अशिक्षा हो , अज्ञानता हो, अविकास हो । यी कुराहरुसँग लड्न एक भएर अघि बढौँ ।’
 
यस्तै कार्यक्रममा विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संघीयताको मुख्य पाटो संघ, प्रदेश र स्थानीय तह भएकाले तीनै तहको सफल कार्यान्वयनको लागि दुई तिहाईको सरकार निर्माण भएको बताउनुभयो । १२ सय शिक्षकको विज्ञापनमा १ लाख २० हजारले आवेदन भरेको तथा शिक्षा संकायको उत्पादित जनशक्ति धेरै भएकाले शिक्षा संकायको अध्ययन अध्यापन बन्द गराउन अघि बढेको उहाँको भनाई छ ।
 
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकार मधेशमैत्री सरकार भएको दावी गर्नुभयो । देशभरमा ६ हजारदेखि ८ हजार सडक निर्माण एवं विस्तारको माध्यमबाट सरकार अघि बढेको उहाँको भनाई छ ।
 
कार्यक्रमलाई नेकपाका प्रदेश २ का इन्चार्ज तथा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवलगायतले सम्बोधन गरेका थिए ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया