होटलमा बालबालिकालाई काम लगाए कारबाही : मुख्यमन्त्री पौडेल

 जेठ २५, २०७५ शुक्रबार १५:२:३८ | हरि हुमागाईं
unn.prixa.net

 मकवानपुर – प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले तीन नम्बर प्रदेशमा बालबालिकालाई होटेलमा श्रमिकको रुपमा काम लगाइएको भेटिए कानुनी कारबाही गरिने बताउनुभएको छ ।

तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रदेश सरकार र बालअधिकार संरक्षण अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडा बालश्रमिकमुक्त र बालविवाहमुक्त बनाइने बताउनुभएको हो  ।

मुख्यमन्त्री पौडेलले हेटौंडामा मानसिक सन्तुलन गुमाएकाहरुलाई सडकमा भेट्न नसकिने बताउनुभयो । उहाँले बालबालिकामाथि भएको हिंसा अन्त्य गर्दै बालश्रममुक्त क्षेत्र बनाउन आफूहरु लागि पर्ने बताउनुभयो ।

‘कुनै पनि होटलमा बालबालिकाहरुको प्रयोग गरिएको पाइएमा कानुन बमोजिम कारबाही हुन्छ’, मुख्यमन्त्री पौडेलले बताउनुभयो ।’ अबको तीन वर्ष भित्रमा तीन नम्बर प्रदेशलाई बालविवाहमुक्त प्रदेशको रुपमा विकास गर्ने पौडेलले बताउनुभयो ।

कार्यक्रमका तीन नम्बर प्रदेशका कारागार र बालसुधार गृहमा आश्रित बालबालिकाहरु अवस्था दयनिय देखिएको बताइएको छ । कारागार र बाल सुधार गृहमा रहेका १ सय ६१ जनाको अवस्था दयनिय रहेको पाइएको हो । 

सबैभन्दा बढी बाल सुधार गृह सानोथिमि भक्तपुरमा १ सय ४७ जना, काठमाडौंको कारागारमा ८ जना, धादिङ कारागारमा ३ जना, चितवन कारागारमा ३ जना बालबालिकाहरु रहेको पाइएको हो ।

आमाबाबुसँगै कारागारमा बस्न बाध्य बालबालिको अवस्था झन् जटिल रहेको बताइएको छ । तीन नम्बर प्रदेशका ११ वटा जिल्लामा सञ्चालित बालगृहहरुमा मात्र ११ हजर ८ सय ८२ जना बालबालिकाहरु बस्ने गरेका छन् ।

बनेका बालगृह पनि मापदण्ड विपरित रहेको बताइएको छ । तीन नम्बर प्रदेशका ११ वटा जिल्लामा ४ सय १५ वटा बालगृह रहेका छन् । कतिपय बालगृहहरुमा धर्म प्रचारप्रसारका लागि बालबालिकालाई बन्देज गरिएको पनि पाइएको तीन नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो । 

धर्मप्रचारका नाममा अधिकार बञ्चित गर्ने गरी सञ्चालन गरिएका बालगृहहरु बन्द गरेर प्रदेश सरकारले आफै बालबालिकाको संरक्षण गर्ने गरी बालगृह बनाएर अगाडि बढ्न प्रदेश तयार रहेको मन्त्री दुलाले बताउनुभयो । 

अहिले बालगृह बन्द गर्नका लागि कानुनी जटिलता रहेको र प्रदेश सरकारले कानुन बनाएरै ‘रिजल्ट’ आउने गरी काम गर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया