सुमो व्यवसायीले यात्रु ठग्दा रमिते बन्यो प्रहरी

 कात्तिक ७, २०७५ बुधबार ९:४६:४१ | हरि हुमागाईं
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरकै अगाडि रहेको टाटा सुमोहरुले यात्रु ठग्ने क्रम अझै रोकिएको छैन ।

दसैँको टीकाको दोस्रो दिनदेखि सुमो व्यवसायीहरुले प्रहरीकै अगाडि सर्वसाधारण यात्रुसँग बढी भाडा असुल्ने गरे पनि प्रहरी प्रशासनले व्यवसायीलाई कुनै कारबाही गरेको छैन् ।

हेटौंडाबाट काठमाडौं जानका लागि टिकट काट्न काउन्टरमा कर्मचारी नभएको र तोकिएको दरभन्दा दोब्बर भाडा तिरेर काठमाडौं आफन्तलाई पठाउन बाध्य भएको हेटौंडा–२, मानसचोकका रामबहादुर सिकारी बताउनुहुन्छ ।

सुमोका लागि हेटौंडाबाट काठमाडाैँ जानका लागि ४ सय ४४ रुपैयाँ भाडा तोकिएको छ । तर आफूले ८ सय रुपैयाँ तिरेर ओम शान्तिको ना १ ज ७०७४ नम्बरको सुमोमा आफन्त पठाउन बाध्य भएको सिकारी बताउनुहुन्छ । त्यो गुनासो प्रहरीलाई गर्दा पनि सुनुवाई नभएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी र मकवानपुर प्रशासनको मिलेमहतोमा हजारौं यात्रु ठगिँदा समेत हेटौंडाको चौकिटोलमा रहेको सुमो काउन्टरको अगाडि बसेको प्रहरीले कुनै कारबाही गरेको छैन ।

संयुक्त सुमो काउन्टर अगाडि बसेका चारजना बिचौलीयाको भरमा पुरै यात्रु ठगिँदै आएका छन् । तर काउन्टरको गेटमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी नरेश सिंङको कमाण्डमा चार जना प्रहरी निरीक्षक सहितको प्रहरी टोली खटिए पनि यात्रुको गुनासो नसुनेको सर्वसाधारणको गुनासो छ ।

सुमो व्यवसायीहरुले काउन्टरमा कसैको पनि टिकट नकाट्ने र बाहिर बिचौलीया मार्फत ४ सय ५० रुपैयाँ सुमोको भाडा ७ सय र ८ सय रुपैयाँ लिँदै आए पनि प्रहरीले त्यस्ता व्यवसायीलाई कारबाही गरेको छैन । बुधबार बिहान भने तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपककुमार थापाको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी नरेशकुमार सिंहको कमाण्डमा प्रहरी परिचालन गरेर सर्वसाधारणको गुनासो समाधान गर्ने प्रयास गरेको छ ।

दसैँको टीकाको दिनदेखि संयुक्त सुमो काउन्टरबाट आजसम्म टिकट काटिएको छैन । बाहिर जसले बढी पैसा दिन्छ त्यही यात्रुलाई मात्र सुमोमा चढाएर काठमाडौं पठाइएको यात्रुहरुको गुनासो छ ।

संयुक्त सुमो काउन्टरमा सुमोहरुले यात्रु नठगुन भनेर राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, ट्राफिक प्रहरी खटाइए पनि उनीहरुकै मिलेमतोमा सुमो व्यवसायीले ठगी गरेको यात्रुको गुनासो छ ।

बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संयुक्त सुमो काउन्टरबाट नै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको निर्देशनमा नगरबसमा समेत यात्रुलाई बुधबार काठमाडौं पठाएपछि तीनदेखि अलपत्र परेका दुई हजारभन्दा बढी यात्रुहरु धेरै यात्रुहरु गन्तब्यमा हिँडेका छन् ।

टाटासुमोले बढी भाडा लिएर ठगी गर्ने र यात्रु बिचल्लीमा परिरहने समस्या भएपछि नगरबसलाई समेत काठमाडौं पठाइएको मेयर महतले बताउनुभयो । बुधबार मात्र आधा दर्जनभन्दा बढी नगरबस काठमाडांै पठाइएको छ ।

यात्रु ठग्नबाट रोक्नका लागि प्रहरीलाई भन्दा हैरान भएको र फेरि आफूले सचेत गराउने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । यात्रु ठग्न नदिनु भनेर प्रहरीलाई निर्देशन दिँदा पनि कार्यान्वयन नभएको उहाँको भनाई छ ।

टाटा सुमोहरुको हेटौंडामा टिकटको कृतिम अभाव सृजना गरेर यात्रुहरुसँग दोब्बर भाडा लिएको हेटौंडा ४ का स्याम सापकोटा बताउनुहुन्छ । काठमाडौंबाट जाँदा र आउँदा पनि दुवैतर्फको यात्राका क्रममा ठगिनु परेको यात्रुहरुको गुनासो छ ।

बढी भाडा असुल गरेको जनगुनासो आए पनि प्रहरीमा अहिलेसम्म कुनै पनि उजुरीहरु नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनुभयो । जनगुनासो आएमा कारबाही गर्नका लागि तयार रहेको उहाँको भनाई छ ।

संयुक्त काउन्टरबाट टिकट काट्नका लागि आफूहरुले दबाब पनि दिने एसपी गुरुङको भनाई छ । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तोकिएको भन्दा बढी भाडा असुल गरे ठगी मुद्धा चलाउने चेतावनी दिनुभएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया