मुस्ताङ जाने पर्यटकको पर्वतका होटलमा घुइँचो

 कात्तिक ७, २०७५ बुधबार ११:५०:२६ | सन्तोष थापा
unn.prixa.net

पर्वत – मुस्ताङ जाने पर्यटकका कारण पर्वतका होटल खचाखच बनेका छन् ।

विशेष गरी मुक्तिनाथ र उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमण गर्न जाने सिजन शुरु भएसँगै पर्वतमा पनि पर्यटकको चाप बढेको हो ।

अहिले पर्वत सदरमुकाम कुश्मा बजारमा मुस्ताङको मुक्तिनाथ कागबेनी लगायतका धार्मिक क्षेत्रहरुमा पुग्नका लागि सोह्रश्राद्धको सुरुवातसँगै धार्मिक पर्यटक र दसैँपछिसम्म पनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दै गएको हो ।

कुश्मा बजारका पाहुनाको चाप थेग्न सक्ने होटलमा प्रतिदिन एउटा होटलमा १ सयदेखि १ सय ५० जनासम्म ग्राहकहरु बस्दै आएका छन् । कुश्मामा पाहुना बस्न मिल्ने होटलहरु भरिएपछि बागलुङका होटलमा समेत पाहुनाहरु पठाइएको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कुश्मा बजारमा विशेष गरी होटल बन्दना सँगै होटल बेञ्जु, होटल फ्रेण्डली र होटल ब्रिज भ्यूले पर्यटकलाई आवासको सुविधा दिएका छन् ।

यसरी मुस्ताङ जानका लागि आन्तरिकसँगै भारतीय पर्यटकको बाक्लो उपस्थिति देखिएको छ । उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेपछि पर्यटकको चहलपहल झनै बढ्न थालेको हो ।
धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको सङख्यामा वृद्धि भएको होटल व्यवसायी श्रेष्ठले बताउनुभयो । मुस्ताङ जाने क्रममा कुश्मा बजारमा बास बसेका आन्तरिक तथा बाह्य पर्यटकहरु फर्कने बेला पनि बास बसेर जाने गरेको उहाँले बताउनुभयो ।

‘हामीले राम्रो आतिथ्यता दिन सकेका पाहुनाहरु फर्कने बेला समेत बास बसेर गन्तब्यतर्फ जाने गर्नुहुन्छ’, व्यवसायी श्रेष्ठले भन्नुभयो, ‘कहिलेकाँही एकै पटक सयौँको संख्यामा पाहुनाको उपस्थिति हुने हुँदा सोचे अनुरुप सेवा सुविधा दिन नसक्दा पाहुनाहरुलाई त्यति खुशी बनाउन सकिँदैन ।’

विगतका समयमा म्याग्दी र मुस्ताङको घाँसासम्म पुगेर पर्यटकहरु बास बस्ने गरे पनि पछिल्लो समयमा पोखरा बागलुङ राजमार्गको स्तरोन्नतीसँगै सोचे अनुरुप सडक यात्रा गर्न नसकेपछि पनि पर्वतमा पर्यटकहरुको चाप बढेको हो ।

गएको वर्षदेखि नै पोखरादेखि पर्वतको कुश्मा हुँदै मालढुंगासम्मको सडकलाई चक्लाबन्दी गर्ने काम तीव्र रुपमा अघि बढिरहेको छ । मुस्ताङ जानका लागि म्याग्दीबाट कच्ची सडक प्रयोग गर्नुपर्छ ।

मौसम सुरु भएसँगै दैनिक मोटरसाइकलमा मात्रै सयौँको सङ्ख्यामा पर्यटक मुस्ताङ घुम्नका लागि जान थालेको पर्वतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँपछि मात्रै बस, मोटरसाइकल र जीप गरी झन्डै २ हजारको संख्यामा पर्यटकहरु मुस्ताङतर्फ गएका छन् ।
मुस्ताङबाट फर्केपछि पर्वतमा रहेका नेपालकै अग्लो तीनवटा झोलुङगे पुल, यान्त्रिक पुल र गुफा अवलोकनका लागि कुश्मामा झर्ने गरेको होटल फ्रेण्डलीका सञ्चालक टंकनाथ आचार्यले बताउनुभयो ।

विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने मुस्ताङ आजभोलि स्वदेशी पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । मुस्ताङ घुम्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।

प्राचीनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रूपमा प्रयोग भएका गुफा मुस्ताङको आकर्षण हो । कला र हिमाली संस्कृतिको अध्ययन तथा अनुसन्धानका लागि पनि सो क्षेत्र महत्वपूर्ण मानिन्छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया