धनकुटामा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु

 कात्तिक ७, २०७५ बुधबार १२:५१:१८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – पहुँच नहुनेहरुका लागि पहुँच भन्ने मुल नाराका साथ धनकुटामा बुधबारदेखि निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५ शुरु भएको छ ।

अलोहामिसन अन्तरगत अमेरिकन ४० जना विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा दिने गरी धनकुटा अस्पतालमा बृहत्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । कार्तिक १७ गतेसम्म संचालन हुने बृहत्त निःशुल्क स्वास्थ्य शिविरको प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राईले निःशुल्क बृहत शल्यक्रिया स्वास्थ्य शिविरबाट स्वास्थ्यको पहँुच भन्दा बाहिर रहेका आम नागरिकले सेवा पाउनु पर्ने बताउनुभयो ।

शिविर गरिब तथा विपन्न परिवारहरुको लागि बरदान सावित हुनु पर्नेमा उहाँले जोड दिनुभयो । गरिब तथा विपन्न परिवारहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा सेवा दिने क्रममा लक्षित समुदायको सहभागितालाई प्राथमिकता दिन प्रतिनिधिसभा सदस्य राईले आयोजकलाई सुझाव दिनुभयो ।

निःशुल्क स्वास्थ्य शिविरमा सामान्यदेखि लिएर जटिल प्रकारका रोगहरुको उपचार गरिने ‘निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५’ सञ्चालन तथा व्यवस्थापन समिति धनकुटाका संयोजक रोशेष श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा शरीरका गाँठागुठी, कोठी, हर्निया, हाइड्रोसिल, मुत्रथैलीको पत्थरी, मेजर पायल्स, कृतिम हात लगाउने, पाठेघर झरेको शल्यक्रिया, पाठेघरमा मासु पलाएको, पित्तथैलीको पत्थरी, दाँत सम्बन्धी सफल उपचार गरिनेछ ।

एक सय ५० जनाभन्दा बढीको मेजर अप्रेशन र ६ सयजना भन्दा बढीको सामान्य अप्रेसन सहितको सेवा दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

अमेरिकी विशेषज्ञ डाक्टरहरुको सहभागितामा बुधबारदेखि शुरु गरिएको शल्यक्रिया शिविरमा एक पटकमा चार जनाको मेजर अप्रेशन गर्ने व्यवस्था गरिएको आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समितिहरु पनि गठन गरिएको छ । निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा धनकुटासहित तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ लगायतका स्थानहरुबाट बिरामीहरु सेवा लिन आएका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया