खुम्बुमा पर्यटकको आगमन बढ्यो, सबै भन्दा बढी अमेरिकी

 कात्तिक ७, २०७५ बुधबार १५:२६:५५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्ब – सोलुखुम्बुको खुम्बु क्षेत्रमा विदेशी पर्यटकको चाप बढेको छ । 

पर्यटकीय सिजन सुरु भएसगै खुम्बु भित्रने पर्यटकको चाप वृद्धि भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । 

असोज अन्तिम सातादेखि मंसिरसम्म सगरमाथा लगायतका अन्य हिम दृष्यावलोकनको लागि उपयुक्त मानिन्छ । प्रहरी सहायक निरीक्षक सरयुग महतोका अनुसार अक्टोबर १ देखि २३ सम्म १४ हजार २ सय ९२ जना विदेशी पर्यटक खुम्बु भित्रिएका छन् । 

जसमा सबैभन्दा बढी अमेरिकाका नागरिक रहेका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकाबाट ५ सय ८१ पुरुष र ४ सय ४६ जना महिला गरी १ हजार २७ जना खुम्बु भित्रिएका छन् । 

त्यसै गरी सबैभन्दा कम बेलारुसका नागरिक रहेका छन् । बेलारुसबाट १ पुरुष र २ जना महिला गरी ३ जना रहेका छन् । 

अहिले दैनिक ६ सयभन्दा बढीको संख्यामा विदेशी पर्यटक खुम्बु भित्रिने गरेको पर्यटक प्रहरी कार्यलय लुक्लाको तथ्याँक देखाएको छ । 

सबैभन्दा धेरै अक्टोबर १ तारिख अर्थात असोज १९ गते ७ सय ७५ जना पर्यटक खुम्बु प्रवेश गरेको कार्यालयले जनाएको छ । 

पर्यटकहरु हवाइजहाजको माध्यमबाट आउने गर्दछन् भने त्यतिकै मात्रामा हेलिकप्टर चार्टर गरी आउने गरेको नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । 

अहिले लुक्लामा दैनिक १२० भन्दा बढी उडान हुने गरेको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख योगेन्द्र कुँवरले बताउनुभयो । 

जसमा ४० देखि ५० सम्म जहाजले तथा ७० देखि ८० उडान हेलिकप्टरले गर्ने गरेको प्रमुख कुवँरकोे भनाई छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया