कात्तिक अन्तिमदेखि मलेसियाको रोजगारी खुल्ने

 कात्तिक ९, २०७५ शुक्रबार ९:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यही महिनाको अन्तिमदेखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने भएको छ । १२ गते नेपाल र मलेसियाबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भए पनि आवश्यक प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएकाले कात्तिक अन्तिमदेखि मात्र श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जनाएको छ ।

समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासागरन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ११ गते आइतबार नेपाल आउँदै हुनुहुन्छ ।१२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्र (एमओयू)मा हस्ताक्षर हुने कार्यक्रम छ । एमओयूको मस्यौदमा गएको असोज १२ गते नै दुई देशबीच सहमति जुटेको थियो ।

एमओयूमा हस्ताक्षर भएपछि दुवै देशका प्राविधिक टोली कामदार लैजाने विधि र प्रक्रियाको टुंगो लगाउनेछन् । आवश्यक सबै प्रक्रियाको टुंगो लगाउन केही दिन लाग्ने भएकाले यो महिनाको अन्तिमदेखि मात्र मलेसियाको रोजगारी खुल्ने मन्त्रालयले जनाएको छ ।

विभिन्न बाहानामा कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो । नेपाल र मलेसियाबीच एमओयूमा हस्ताक्षर भएपछि कामदारको करार अवधि २ वर्षको मात्रै हुनेछ । 

अब मलेसियाको रोजगारी निःशुल्क

समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने छन् । यसअघि स्वास्थ्य परीक्षण, लेबी, टिकटदेखि सेवा शुल्कसम्मका सबै प्रक्रिया पूरा गर्दा मलेसिया जाने नेपाली कामदारले ठूलो आर्थिक भार व्यहोर्नु परेको थियो ।

अब बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि २९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ  भने कामदारले सरकारबाट मान्यता प्राप्त र पूर्वाधार पूरा भएको स्वास्थ्य संस्थाबाट मेडिकल गर्न सक्नेछन् । 

म्यानपावरलाई आधा महिनाको तलब

कामदार पठाउने म्यानपावरले सेवा शुल्क वापत कामदारको आधा महिनाको तलब बराबरको पैसा पाउने छन् । तर त्यो पैसा रोजगारदाताले नै तिर्नु पर्नेछ । कामदारको तलबबाट काट्न नपाउने एमओयूमा उल्लेख छ । 

मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले पनि नेपालको इच्छा अनुसार नै नेपाली कामदार लैजाने बताउनुभएको थियो । श्रम मन्त्री गोकर्ण विष्टको पहलमा मलेसियाको रोजगारी कामदारकै पक्षमा हुने गरी खुल्ने भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया