चार लाख भूकम्प प्रभावितले लिए घर निर्माणको दोस्रो किस्ता

 जेठ २५, २०७५ शुक्रबार १८:८:४८ | उज्यालो सहकर्मी

काठमाडौं – घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावितको संख्या ४ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार अनुदान सम्झौता गरेका कुल ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीहरुमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यो अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याको ५६ प्रतिशत हो । दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख ३५ हजार ४ सय पुगेको छ ।

पहिलो किस्ता लिने लाभग्राहीको संख्या ७ लाख १० हजार ४३ छ । प्राधिकरणले दोस्रो किस्ता लिने समयावधि असार मसान्त तोकेको छ । निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धताका कारण घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा बढ्दै गएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताउनुभयो ।  

दोस्रो र तेस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्ने लाभग्राहीको संख्यासँगै पुनर्निर्माण सम्पन्न र पुनर्निर्माण भइरहेका घरको संख्या पनि बढेको छ । बिहीबारसम्मको तथ्यांक अनुसार पुनर्निर्माण सुरु भएका ४ लाख ८१ हजार ४ घरमध्ये १ लाख ६२ हजार १ सय ८९ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

जिल्लागत रुपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ६८ हजार ३ सय ११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् । त्यसैगरी, तेस्रो किस्ता लिने लाभग्राहीको संख्यामा पनि बृद्धि भइरहेको छ । तेस्रो किस्ताका लागि प्रमाणिकरण भएका लाभग्राहीको संख्या १ लाख ७४ हजार २ सय ८ पुगेको छ । ती मध्ये १ लाख ३७ हजार ७ सय ३१ ले तेस्रो किस्ता लिइसकेका छन् । भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ पाउँछन् भने तेस्रो किस्ताबापत १ लाख रुपैयाँ पाउँछन् ।

प्राधिकरणले पछिल्लो समय गुनासो सुनुवाईलाई तीव्रता दिई योग्य गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राहीमा थप गरिरहेको छ । प्राधिकरणले जेठ महिनाभित्र गुनासो सम्बोधन गरी ७ हजार ४ सय २२ पुनर्निर्माण लाभग्राही थप गरेको हो । 

यस्तो छ लाभग्राहीको संख्या

प्रबलीकरण सूचीमा परेका लाभग्राही संख्याः २९,४९३

अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याः ७,१८,९०३

पहिलो किस्ता लिएका लाभग्राही संख्याः ७,१०,०४३

दोश्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः ४,३५,३४०

तेश्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः १,७४,२०८

पुनर्निर्माण भइरहेका घरहरुः ४,८१,००४ 

पुनर्निर्माण सम्पन्न भएका घरहरुः १,६२,१८९

लाभग्राही सूचीमा परेका कुल संख्या ः ७,७५,१२७

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया