कर्णाली रारा पर्यटन वर्षको उद्घाटनमा ६३ लाख भन्दा बढी खर्च

 जेठ २५, २०७५ शुक्रबार १८:४३:३९ | उज्यालो सहकर्मी

सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा भएको खर्च सार्वजनिक गरेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेर दवाव दिएपछि प्रदेश सरकारले खर्चको विवरण आज सार्वजनिक गरेको हो । आज संसदमा सरकारका तर्फबाट जबाफ दिंदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षको उद्घाटनको क्रममा ६३ लाख ८१ हजार  रुपैँया खर्च भएको बताउनुभयो । 

पर्यटन वर्षको उद्घाटनका लागि नेपाल पर्यटन बोर्डबाट १४ लाख सहयोग प्राप्त भएको र प्रदेश सरकारको ४९ लाख ४१ हजार ७ सय ९५ खर्च भएको उहाँले जानकारी दिनुभयो । 

विवरण अनुसार उद्घाटन कार्यक्रममा अतिथिहरुलाई दिएको कर्णाली रारा पर्यटन वर्ष लेखिएको झोलामा २ लाख खर्च र अतिथि  र सहभागीको खाजा –खाना खर्चमा १७ लाख ४६ हजार एक सय २० रुपैयाँ खर्च भएको छ ।

यस्तै अतिथिलाई दिएको उपहारमा ५ लाख ५४ हजार तीन सय ७१ रुपैँया, पत्रकारहरुको बाटो खर्च र खाना खर्चको ६४ हजार ९ सय ७० र टेलिभिजनमा प्रचारप्रसारका लागि ४ लाख १२ हजार ६ सय ८४ रुपैयाँ लागेको बताइएको छ ।

त्यस्तै, रेडियोहरुमा प्रचारप्रसारमा २ लाख ५८ हजार ३ सय ३८, प्रचारपम्लेट पोष्टर, निमन्त्रणा कार्डलगायतमा  २ लाख २७ हजार ३ सय ३८,  हवाई भाडा १० लाख २९ हजार  २ सय ६, स्थलगत यातायात  खर्च ७६ हजार र स्थानीय तहको खर्चको लागि २ लाख रुपैयाँ खर्च देखाइएको छ ।

मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रमका लागि ११ लाख ५० हजार २ सय, आवासका लागि ४ लाख ६२ हजार ७ सय ६८ रुपैयाँ खर्च भएको र मुगु जिल्ला समन्वय समितिलाई कार्यक्रमको स्थानीय तयारीका लागि २ लाख खर्च भएको योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । 

उहाँले कर्णाली रारा पर्यटन वर्षमा प्रदेश सरकारले कुनै अनियमितता नगरेको भन्दै खर्च विवरण पादरर्शी राखेको बताउनुभयो । 

खर्चको विवरण सार्वजनिक गर्दै योजना मन्त्री ज्वालाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीले गर्दा आफुहरुले छिट्टै सार्वजनिक गर्न नसकिएको बताउनुभयो । 

उहाँले पर्यटन वर्ष सुरु भएदेखि कर्णाली प्रदेशमा पर्यटकहरुको संख्या पनि बढ्दै गएको बताउनुभयो । साथै, पर्यटकहरुलाई कर्णालीका सबै पर्यटकीय स्थलहरुमा पु-याउने लक्ष्य पूरा गर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया