घर छोड्दाको पीडा र दुर्घटना देखेर आत्तिएको मन

 कात्तिक १२, २०७५ सोमबार १०:२९:४७ | विना न्याैपाने
unn.prixa.net

घर नगएको पनि धेरै भएको थियो । परिवारसँग टाढा भएर बसेकाले सधैं घरको याद मात्र आउँथ्यो । त्यसैले दसैँमा कहिले पुगौं भैरहेको थियो । 

टिकट खुलेकै दिन नयाँ बसपार्क गएर सजिलैसँग टिकट लिएको थिएँ । त्यसैले घर पुग्नको लागि त कुनै समस्या भएन । तर जब दसैँको बिदा सकिएर कर्मथलो फर्कनु पर्ने भयो, दुई दिन अघिदेखि नै नरमाइलो लाग्न थाल्यो । परिवारसँग फेरि विछोड हुन पर्यो भनेर चिन्ता लाग्यो ।

७ गते बिहानै मन अमिलो बनाउँदै उठें, अनि सबै काम सकेर निस्किएँ । छिटो बस चढ्न घरबाट ८ नबज्दै निस्केको थिएँ । काठमाडौं आउन मैले पालुंगटारको पाउरोटी भण्डार भन्ने ठाउँबाट बस चढ्नुपर्छ । त्यहाँबाट झण्डै दुईघण्टामा डुम्रे पुगिन्छ ।

बस छुटेको ठाउँबाट म चढ्ने ठाउँसम्म आइपुग्दा बसमा पाइला राख्ने ठाउँ पनि थिएन । दुईवटा बस आउँदासम्म म चढ्न सकिन । एकातिर घर छोड्नु पर्दाको पीडा छ भने अर्काेतिर गाडीमा टेक्ने ठाउँसम्म पनि छैन । 

आधा घण्टाको फरकमा अर्काे गाडी आयो । तर त्यो पनि उस्तै हालतमा । ९ बजिसकेको थियो । अब जस्तो भए पनि जान्छु भनेर बस रोकें । ढोकाबाट माथि जाने ठाउँ पनि थिएन । लगेज छतमा राख्न लगाएर ढोकामा नै झुण्डिएँ । 

दश मिनेटपछि बस रोकियो । उभिने धेरै जना त्यहीँ झरे । ढोकाबाट माथि पुगेपछि उभिरहेकाहरुलाई तपाईंहरु कहाँसम्म जाने भनेर सोधें । सबैले काठमाडौं भनेपछि झन् निराश भएँ ।

उभिएरै भए पनि जाने, बरु बीचमा गएर अर्को बसमा चढौंला भन्नेहरु धेरै थिए । मलाई उभिएरै काठमाडौं पुग्छु भन्ने आँट थिएन । अनि चालकलाई सोधें ,“दाई मलाई सञ्चो छैन उभिएरै काठमाडौं जानुपर्ने हो र ?”  एकछिन मुखमा हेरेर भने “पख न म मिलाउँदै छु ”। 

शायद म बिरामी छु भन्ने कुरा मेरो अनुहारले नै बताईरहेको थियो । सिटमा बसेका सबै काठमाडौ. नै जाने भए पछि कसरी मिलाउला र भन्ने लागेको थियो । कुनै उपाय लागेन होला अनि चालकले भने , “पछाडि सिट सबै प्याक छ , अब क्याबिनमा आउ, म मिलाउँछु भने । अरु केही उपाय नभएपछि चालक बस्नेतिरबाट गएर उकुसमुस हँुदै क्याबिनमा बसें । अनि थोरै भए पनि राहतको सास फेरें । 

त्यसपछि बस आफ्नो सुरमा हिँड्न थाल्यो । बसले आफ्नो गतिलाई थोरै बढाएर डुम्रे नजिकै के पुगेको थियो, अर्कोतिरबाट आएको ट्रकले बसलाई हान्यो । 
बसको एक भागमा असर  गर्यो । थोरै तल गएको भए शायद पानी भन्न पनि नसक्ने अवस्था थियो । सबैको भाग्य बलियो रहेछ भनौं, गाडी ठुलो दुर्घटना हुनबाट जोगियो । लगभग ४५ मिनेट जति बस रोकियो । 

सबैजना आत्तिंदै तल झरेका थिए । म निस्कनै सकिनँ, जे भए पनि होस् भनेर बसभित्र नै बसें । गल्ती ट्रकको थियो । बसको बिग्रिएको भाग बनाउने सहमति भएछ, अनि बस अघि बढ्यो । 

त्यहाँबाट १५ मिनेटपछि बस डुम्रेमा पुग्यो । त्यहाँ झर्नेहरु झरिसकेका थिएनन् । एक्कासी ठुलो आवाज आयो पछाडिबाट । वरपर सबै दौडिरहेका थिए । मेरो ध्यान बाहिर नै गयो आफू निस्कन नसके पनि । हामीभन्दा पछाडी आएको गाडीले सामान ओसार्नै जिपलाई ठक्कर दिएछ । अनि जिप अनियन्त्रित भएर पसल छेउमा बसेका तीन जनालाई ठक्कर दियो । 

एकजना अन्दाजी ५० वर्षकी देखिने महिलालाई जिपमा नै राखेर हाम्रै अगाडी लेराए । ती महिलाको मुटु ढुकढुक गरिरहेको देखिन्थ्यो, तर पुरै बेहोस थिइन् । ती वृद्धाको अवस्था देखेर मन आत्तियो, आँखाबाट आँसु बग्यो । 

गाडीवालालाई पहिला अस्पताल लैजानुस् न भनें । ट्राफिक नआएसम्म लैजान मिल्दैन भन्दै त्यहीँ राखे । ती महिलाको पेट फुलेर धेरै ठूलो भैसकेको थियो । पहिला चलेको ढुकढुक पनि थिएन । दुई मिनेटको बाटोमा थियो अस्पताल, तर लैजाने कोही भएनन् । धेरैको अनुमान थियो, सास गैसक्यो भन्ने ।

के प्रहरीले अस्पताल लैजाउ भने पछि मात्रै्र अस्पताल लैजानु पर्ने हो र ? समयमा नै अस्पताल पुर्याएको भए बाँच्ने घाइतेले यसैगरी उपचारको अभावमा ज्यान गुमाउन पर्ने ? अनि कता गयो हाम्रो मानवता ? मनमा त थुप्रै प्रश्नहरु आए, तर समाधान कहिले होला  ? 

सबैजना फोटो खिच्नमा मात्रै व्यस्त देखिन्थे । बिरामीलाई अस्पताल लैजाउ भन्ने कोही भेटिएनन् । आधा घण्टापछि बल्ल ती महिलालाई त्यहाँबाट लगियो । अरु दुईजना भने होशमा नै रहेकाले आफै अस्पताल गए । 

एक घण्टापछि हाम्रो बस त्यहाँबाट हिँड्यो । सबैजनालाई सिट नभए पनि मुडामा नै भए पनि सबै बसेका थिए । डुम्रेबाट आँबुखैरेनी आईपुग्न धेरै लाग्दैन । दुर्घटना देखेर कहालिएको मन आँबुखैरेनी नआईपुग्दैमा झनै आत्तियो ।

त्यहाँ मोटरसाइकल दुर्घटना भएको रहेछ । ट्राफिक प्रहरीले लडेको मोटरसाइकल उठाउँदै थिए । मोटरसाइकलमा रहेका अन्दाजी २०, २२ वर्षका देखिने केटा र केटी घाइते भएछन् । केटीलाई धेरै चोट लागेको थियो हो, टाउकोबाट धेरै रगत बगेको देख्थ्यिो । एबुलेन्समा राखेर घाईतेलाई त लगियो । तर मेरो मन झनै आत्तियो ।

सिट नपाएर सजिलोसँग बस्न नपाएको पीडाभन्दा पनि बाटोमा एकपछि अर्काे देखिएको दुर्घटनाले धेरै पीडा दिएको थियो । 

त्यहाँबाट बस अगाडि बढ्यो । आँबुखैरेनीबाट मुग्लिन हुँदै कुरिनटार केवलकार चढ्ने ठाउँमा आइपुग्दा क्रेनले नयाँ तर पुरै कच्याकुचुक भएको गाडी तानेर लेराएको देखियो । त्यसैले एकछिन बाटो बन्द भएको रहेछ । त्यो दुर्घटनामा कति घाइते भए भन्ने त थाहा पाउन सकिएन, तर गाडीको अवस्था हेर्दा धेरैको गम्भीर छन् भनेर अनुमान  गर्न सकिन्थ्यो ।

कुरिनटारभन्दा केही अगाडि गाडी ठोक्किएर पल्टेको रहेछ । त्यसपछि अब त कतै केही नहोस् भनेर हिँडेको, कृष्णभिरमा बाटो बनाउँदै रहेछ । त्यहाँ एकघण्टा जाममा बस्नु पर्‍याे ।

जन्मभूमीबाट कर्मभूमी फर्कनु पर्दा यसै पनि मन खिन्न भएको थियो । तर झन पीडा थप्यो बाटोमा देखिएका दुर्घटनाले । ५, ६ घण्टामा आईपुग्ने काठमाडौं त्यो दिन १२ घण्टामा बल्ल बल्ल आइपुगियो ।

यात्रा गर्ने सबैले भोग्नुपर्ने साझा समस्या हो यो । सडक यात्रालाई सुरक्षित र सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने होइन र ? के हाम्रो देशमा नियम बनाएर पनि  पालना गर्नै नसकिने हो ? कि नीति नियम मिच्नेलाई कारबाही गर्नै नसकिने हो ? प्रश्न जति मनमा उब्जिए पनि समाधान पाउन भने सकेको छैन । के यता पनि सरकारको ध्यान जान आवश्यक छैन र ? 
 

अन्तिम अपडेट: चैत ५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया