विश्वकप अघिकाे मैत्रीपूर्ण खेलमा जर्मनी र स्वीट्जरल्याण्ड विजयी

 जेठ २६, २०७५ शनिबार ६:८:१२ | उज्यालो सहकर्मी

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा गएराति जर्मनी र स्वीट्जरल्याण्डले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् ।

लिभरकसेलको बे एरिनामा भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हरायो । खेलको आठौं मिनेटमै मार्को रिउसको पासमा युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो ।

४३ औं मिनेटमा साउदीका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लियो । खेलको नियमित समय सकिनु ६ मिनेटअघि ताइसिर अल जासीमले सान्त्वना गोल फर्काए ।

साउदी अरब विश्वकपको समूह ‘ए’ मा छ र उसले उद्घाटन खेल जुन १४ मा रुससँग खेल्नेछ । यस समूहमा उरुग्वे र इजिप्ट पनि छन् ।
जर्मनी प्रतियोगिताको समूह ‘एफ’ मा छ । जर्मनीको समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया छन् ।

शुक्रबार राति भएको अर्को मैत्रीपूर्ण खेलमा स्वीट्जरल्याण्डले एशियाली टोली जापानलाई २–० ले हरायो । स्वीट्जरल्याण्डको जितमा रिकार्डो रोड्रिगुइजले पेनाल्टीमार्फत अग्रता दिएका थिए भने ह्यारिस सेफरोभिकले २–० को विजयी गोल गरे । स्वीट्जरल्याण्ड विश्वकपमा समूह ‘इ’ मा छ । उसको समूहमा ब्राजिल, कोष्टारिका र सर्बिया छन् ।

गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलहरुमा इरानले लिथुवानियालाई १–० ले हराएको छ भने क्रोएशियाले सेनेगललाई २–१ ले पराजित गरेको छ । त्यस्तै पोल्याण्ड र चिलीले २–२ गोलको बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया