करोडौँ बक्यौता नतिरी भाग्यो एयर एसिया

 कात्तिक १२, २०७५ सोमबार १७:२१:५४ | रासस
unn.prixa.net

काठमाडौं – मलेसियाको जेट एयरलाइन्स एयर एसियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ ।

काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एसियाले यात्रुको अभाव रहेको भन्दै गएको असोज २७ गतेदेखि उडान स्थगन गरेको हो । त्यस कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

यो विलम्ब शुल्क हो । कम्पनीले अहिलेसम्म झण्डै ३० करोड रुपैयाँ रकम बुझाइसकेको विमानस्थलले जनाएको छ । एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एशियाले वाइड बडी ए ३३० बाट दैनिक उडान भर्दै आएको थियो ।

बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । विलम्ब शुल्क तिर्नका लागि पहल गर्ने आशयसहित विमानस्थललाई पत्राचार गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्क बापतको सात करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै गएको ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्नेछ ।

नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहे पनि श्रम सम्झौता हुन सकेको थिएन । नेपालबाट कामका लागि मलेसिया जानेमाथि ठगी भएको भन्दै सरकारले केही समयका लागि श्रम स्वीकृति रोकेको थियो ।

दुई देशबीच भएको श्रम सम्झौतापछि उक्त एयरलाइन्सले पुनः सेवा शुरु गर्नसक्ने महाप्रबन्धक क्षेत्री बताउनुहुन्छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्ष्य गरी उडान भर्न शुरु गरिएको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निर्णय गरेको थियो ।

महाप्रबन्धक क्षेत्रीका अनुसार लगातार घाटा भएपछि उडान भर्न बन्द गर्ने भन्दै सेवा बन्दका लागि कम्पनीले निवेदन दिएकामा कामदारको समस्या समाधान हुने भएकाले उडान बन्द नगर्न सुझाइएको थियो ।

नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान भर्ने एयरलाइन्स काठमाडौँबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । अहिले सो मार्गमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्सले उडान भर्दै आएका छन् ।

बोर्डलाई सात करोड रुपैयाँ तिर्न बाँकी एयर एशियाले नेपाल पर्यटन बोर्डलाई सात करोड २३ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ । विगत एक वर्षदेखि उक्त वायुसेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका सूचना अधिकारी रोहिणीप्रसाद खनालले जानकारी दिनुभयो ।

एयर एशियाको उक्त रकम जरिवानासहितको हो । बोर्डले बक्यौता रकम तिर्न सो कम्पनीलाई पटक–पटक आग्रह गरे पनि अटेर गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत रकम असुलका लागि पहल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया