रामारोशन गाउँपालिकामा देवता बाहिर, छाउपडी भित्र

 जेठ २६, २०७५ शनिबार ६:४४:८ | चन्द्र थापा

अछाम – छाउपडी कुप्रथा मान्ने प्रचलनका करण अछाम जिल्ला निकै बदनामित भइसकेको छ ।

महिला महिनाबारी भएका बेला घरबाट छुट्टै टाढा निर्माण गरिएका स–साना गोठहरुमा बस्नुपर्ने सामाजिक कुप्रथाका कारण महिलाहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको छ । 

पछिल्लो १० वर्षको तथ्यांक अनुसार महिनावारी भएका बेला छाउगोठमा बसेकै कारण १० जना महिला तथा किशोरीहरुको ज्यान गएको छ । यसैलाई मध्यनजर गर्दै अछामसहित प्रदेश नम्बर ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा छाउपडी कुप्रथा बिरुद्धका अभियानहरु सञ्चालनमा रहेका छन । 

प्रदेश ७ का स्थानीय तहहरुले पनि छाउपडी कुप्रथा हटाउन अभियान नै सञ्चालन गरेका छन । अछामको रामारोशन गाउँपालिकाले भने छाउपडी कुप्रथा बिरुद्ध फरक र नयाँ अभियान सञ्चालन गरेको छ ।

अछामका अन्य स्थानीय तहभन्दा छाउपडी कुप्रथा र जातिय छुवाछुत मान्ने प्रचलन एकदमै न्यून रहेको यस गाउँपालिकामा छाउपडी कुप्रथालाई पूर्ण रुपमा हटाउनका लागि गाउँपालिकाले ‘देवता बाहिर छाउपडी भित्र’ अभियान सञ्चालन गरेको छ ।

धेरैजसो महिलाहरु छाउ भएका बेलामा पनी घरमै बस्ने गरेको भए पनी सबैजसो वडामा देवी देवताका माण्डा भएका घरहरुमा भने गोठमै बस्ने गरेको पाइएकोले यस्तो अभियान चलाइएको गाउँपालिका अध्यक्ष झंकर साउद भास्करले बताउनुभयो । 

‘गाउँपालिकाबाट सुक्ष्म अध्ययन गर्दा महिला छाउ भएका बेला गोठमा बस्नुको मुल कारण घरमा राखिएका देवी देवताका माण्डा नै भएकाले तिनको व्यवस्थापन गर्न बाहिर स–साना मन्दिर बनाउने र महिला छाउ भएका बेलामा घरमै बस्ने व्यवस्था गर्न यो अभियान चलाएका हौं’, अध्यक्ष भास्करले भन्नुभयो ।

घरमा भएका देवता र देवीलाई छुट्टै सानो मन्दिर बनाएर राख्न पाएमा महिला महिनावारी भएका बेला पनी घरमै बस्ने कुरामा स्थानीयबासी पनि सहमत भएको अध्यक्ष साउदले जानकारी दिनुभयो । छाउपडीको मुल समस्या धार्मीक आस्था भएका कारण त्यसलाई व्यवस्थापन गर्दै छाउपडी कुप्रथालाई अन्त्य गर्ने उहाँको भनाई थियो ।

गाउँपालिकाले अहिलेसम्म गरेको अध्ययन अनुसार रामारोशनका ७ वटै  वडामा न्यूनतम ३० देखि ५० सम्म देवी देवताका माण्डा घरमा राखिएको पाइएकाले त्यतिकै संख्यामा स–साना मन्दिर बनाउनका लागि आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरिने भएको छ । 

‘देवी देवतालाई व्यावस्थापन गर्न न्यूनतम १० हजारदेखि ३० हजार रुपैयाँ लागत लाग्ने गरी एकै डिजाइनका २५० देखि ३५० वटा मन्दिर गाउँपालिकाभर निर्माण गरिनेछ’, गाउँपालिका अध्यक्ष साउदले अगाडि भन्नुभयो, ‘यसबाट छाउपडी समस्या समाधान मात्रै हुने नभई यहाँको पर्यटन प्रर्बद्धनमा पनि टेवा पुग्नेछ ।’ 

रामारोशनमा घरमा देवी देवताका माण्डा भएको ठाउँमा मात्रै महिला महिनावारी भएका बेला छाउगोठमा बस्ने गरेको पाइएकोले धार्मीक कट्टरताबाट सृजना भएको छाउपडी समस्यालाई समाधानका लागि विकल्पको रुपमा गाउँपालिकाले यो नीति लिएको अध्यक्ष साउदले बताउनुभयो । धार्मीक आस्थाको व्यवस्थापन भएपछि कुप्रथा स्वत हटेर जाने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया