छिमेकीकी बुहारीसँग अनैतिक सम्बन्ध राख्ने युवकलाई समाजले दियो यस्तो ‘दण्ड’

 कात्तिक १२, २०७५ सोमबार २०:२६:४७ | धनवीर महतो
unn.prixa.net

प्रतिकात्मक तस्बिर

महोत्तरी – विवाहित महिलासँग अनैतिक सम्बन्ध स्थापित गरेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिकाका एक युवालाई ‘सामाजिक दण्ड’ दिइएको छ । 

सोमबार बिहान एकडारा गाउँपालिका –१, का ३० वर्षीय दिलीप मण्डललाई एक नवविवाहित महिलासँग अनैतिक सम्बन्ध स्थापित गरेको भन्दै स्थानीयहरुले ‘सामाजिक दण्ड’ दिएका छन् ।

स्थानीयहरुले मण्डललाई आधी कपाल काटेर, जुता चप्पलको माला लगाई, निधारमा चुनको टीका लगाई गाउँ घुमाएका हुन् । छिमेकीकी बुहारीलाई प्रलोभनमा पारि अनैतिक सम्बन्ध स्थापित गरेको भन्दै मण्डललाई सामाजिक रुपमा दण्डित गरिएको स्थानीयले बताएका छन् । 

वडा नं. १ का वडाध्यक्ष रैहान रेजा अन्सारीले घटना वास्तविक भएको जनाउनुभएको छ । आफू बाहिर रहेको समयमा गाउँका एक समूहले त्यो घटना घटाएको र आफू सत्यतथ्य बुझ्ने प्रयासमा रहेको वडाध्यक्ष अन्सारीले बताउनुभयो ।

घटना मानवअधिकारविपरीत रहेको गाउँपालिकाका अध्यक्ष रामछविला साहले जनाउनुभएको छ । 

आफूलाई केहीबेर अगाडि मात्र घटनाको सम्बन्धमा जानकारी भएकोले आफूले सत्यतथ्य बुझ्ने प्रयासरत रहेको गाँउपालिकाका प्रमुख साहले पत्रकारलाई बताउनुभयो । 

घटनास्थलमा पुगी प्रहरीको टोलीले अनुसन्धान सुरु गरिसकेको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

घटनामा संलग्न जो कोहीलाई कानुन अनुसार सजाय हुने प्रहरी उपरीक्षक कार्कीले जनाउनुभयो । मण्डल सम्पर्कविहीन रहेकोले प्रहरीले खोज्ने प्रयासमा रहेको प्रहरी उपरीक्षक कार्कीले जनाउनुभयो । मण्डल आफै विवाहित रहेको र उनको चार छोराछोरी रहेको बुझिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया