रिक्साचालकको दैनिकी : कहिले मालामाल, कहिले पुर्पुरोमा हात

 कात्तिक १३, २०७५ मंगलबार ९:२८:३३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं –  काठमाडौंको बसन्तपुर क्षेत्र पर्यटकको रोजाइको ठाउँ हो । यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको बाक्लो चहलपहल हुन्छ । पर्यटकहरुलाई नगर भ्रमण गराउनको लागि भनेर यस क्षेत्रमा रिक्साहरु चल्ने गर्छन । कोही पर्यटक बोकेर गन्तव्यमा जाँदै गरेको देखिन्छ । कोही पर्यटकको प्रतिक्षामा पर्खिबसेका हुन्छन् ।

रिक्सा चढेर काठमाडौंको मनोरम दृश्यावलोकनमा रमाउन चाहने पर्यटकहरुले धानेको छ रिक्सावालाको दैनिकी । पर्यटक नआए त रिक्सा थन्क्याएर पशुपतिमा गए पनि भयो भन्नुहुन्छ रिक्साचालक मंगल तामाङ । 

काभ्रे नगरकोटका तामाङ ५० वर्षदेखि काठमाडैंमा रिक्सा चलाउँदै आउनुभएको छ । काठमाडौंमा श्रीमतीसँगै कोठाभाडा लिएर बस्नुभएको छ । छोराछोरी छैनन् । ‘रिक्सा चलाएर दैनिक हजार रुपैयाँ जतिको आम्दानी हुन्छ । कहिले राम्रो टिप पाइहाल्यो भने त दुई हजार पनि कमाई हुन्छ।’ उहाँले भन्नुभयो । तर कहिलेकाहीँ चाहिँ कमाई नै हुँदैन ।

तामाङ बिहानै ६ बजे रिक्सा लिएर वसन्तपुरमा पुग्नुहुन्छ । उहाँको अनुभवमा पर्यटकहरु बिहान घुम्न रुचाउँछन् । दिउँसोको जाम तथा धुलोधुवाँबाट आजित भएका पर्यटकहरु बिहानको खुल्ला वातावरणमा काठमाडौंको दृश्यावलोकन गर्न रमाउँछन् । यही मौका छोपेर पर्यटकलाई डुलाउन निस्कनुहुन्छ, तामाङ । 

तामाङ मात्र होइन, वसन्तपुर क्षेत्रमा रिक्सा चलाउने अरु पनि यसैगरी पर्यटकको आगमनलाई पर्खिरहेका हुन्छन् । रिक्सामा चढ्न आउने पर्यटकहरुले कसलाई रोज्छन् थाहा हुन्न । कसैले आफ्नोमा बस्नुस भनेर हानथाप गर्दैनन् । जसको अगाडि आएर पर्यटक उभिए, जसले कुरा गर्न जान्यो, उसैले छिटो पालो पाउने हो ।

 

यो क्षेत्रमा पुराना रिक्सा चालकदेखि भर्खरै आएका नयाँ रिक्सा चालकहरु पनि छन् । धादिङका राम केसी पनि विगत तीस वर्षदेखि वसन्तपुरमा रिक्सा चलाउँदै आउनुभएको छ । कुलेश्वर बस्दै आउनुभएका केसीले यही काम गरेर काठमाडौंमा चारजनाको  परिवार पाल्दै आउनुभएको छ । दुई छोरीहरुलाई उच्च शिक्षासम्म पढाइसक्नुभएको छ । 

यसबीचमा कतिपटक कतिजना पर्यटकलाई रिक्सामा राखेर घुमाइयो भन्ने उहाँसँग कुनै हिसाब छैन । 

पर्यटक नभए रिक्सा नचलाए पनि भयो 

‘रिक्सा चढ्ने भनेको नै पर्यटकहरुले हो । नेपालीहरु त आक्कलझुक्कल मात्रै चढ्छन् ।’ रिक्साचालक दिप राई भन्नुहुन्छ, ‘वसन्तपुरबाट रत्नपार्कसम्म पुगेको डेढसयदेखि तीनसय  रुपैयाँसम्म दिन्छन् । कसैले बार्गिनिङ गर्छन्, महंगो भन्छन्, कसैले थपेर पनि पैसा दिन्छन् ।’

पर्यटक भित्रिने समयमा बढी कमाई हुने गर्छ । अक्टोबरदेखि डिसेम्बर र मार्चदेखि जुनसम्म बढी पर्यटकहरु आउने हुँदा त्यतिबेला कमाइ राम्रो हुने रिक्साचालक बताउनुहुन्छ ।

शहरभित्रका साँघुरा गल्लीहरु जहाँ ट्याक्सी जान मिल्दैन, त्यहाँ जानका लागि रिक्सा नै उपयुक्त हुन्छ । रिक्सामा बसेर चारैतिरको दृश्यावलोकन गर्न पनि मिल्ने भएकाले पर्यटकको रोजाइमा यो साधन परेको हो भन्नुहुन्छ, रिक्सा चालक राम केसी ।

उहाँ भन्नुहुन्छ, ‘रिक्साले पर्यटन विस्तारमा सेवा पुर्याएको हुन्छ । पर्यटकहरु विस्तारै कुदाउन भनेर आग्रह गर्छन् ।, उनीहरुले हाम्रा सबै सम्पदाहरु नियालेर फोटो खिचेर लैजान्छन् ।’

रिक्सा चलाउन पनि समस्या

अहिले ट्याक्सीको संख्या बढ्दै गएकोले अलि रिक्साको कमाई घटेकोे रिक्सा चालकहरु गुनासो गर्छन् । ट्याक्सी बढी भएर रिक्सा कमै चल्न थालेका हो कि भन्नुहुनछ, रिक्सा चालक केसी । त्यही भएर होला पहिलाको भन्दा अहिले खासै राम्रो कमाई छैन । पहिला ट्याक्सी कम थिए, जाम हुँदैन थियो । अहिले त जाममा पर्यो भने एउटै टिप गर्न पनि दुईचार घण्टा लागिदिन्छ । केसीले भन्नुभयो, ‘एकपटक टिप लाग्यो भने लाग्या लाग्यै हुन्छ । लागेन भने खालि पनि बस्नुपर्ने हुन्छ ।’

बिहान नौ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मुख्य रोडमा जान मिल्दैन । ट्राफिक जाम बढ्ने भनेर ट्राफिक प्रहरीले यस्तो नियम लगाएको हो । तर यो नियमले आफ्नो व्यवसायमा समस्या भएको रिक्सा चालक गुनासो गर्छन् । 

यस्तै रिक्सा पार्किङ गर्नको लागि पनि समस्या हुने गरेको छ । ‘नगरपालिकाले बाहिर लगेर पार्किङ गर्नु भन्छ, तर पर्यटक नै नआउने ठाउँमा लगेर हामीले रिक्सा पार्किङ गरे कसरी सवारी मिल्छ ?’ केसीले भन्नुभयो ।

रिक्सा जस्तै जिन्दगी

रिक्सा चलाउनेहरु कसैसँग आफ्नै रिक्सा छन् भने कसैले साहुको रिक्सा चलाइरहेका छन् । साहुलाई रिक्सा चलाएवापत दिनको पचासदेखि एकसय रुपैयाँसम्म भाडा दिनुपर्छ । एउटा रिक्सा किन्दा ७० हजार रुपैयाँ जति पर्छ । यसलाई महानगरपालिकामा दर्ता गरेर नम्बर पाएपछि मात्र चलाउन पाइन्छ ।

सधैं एउटै मौसम हुँदैन । विदेशी पर्यटक भए मात्र सवारी मिल्ने भएकाले आम्दानीको कुनै टुङ्गो छैन । कहिले हजार, दुईहजार रुपैयाँ पनि कमाई हुन्छ, कहिले एक रुपैयाँ पनि हुँदैन । 

रिक्सा चलाएरै ५० वर्ष कटाउनुभएका मंगल तामाङ पुराना दिनहरुलाई सम्झिंदै भन्नुहुन्छ, ‘त्यतिबेला पाँच रुपैयाँमा रिक्सा चलाइन्थ्यो । दिनमा एकसय जति कमाई भयो भने तीन दिन खान पुग्थ्यो । अहिले दिनको एकहजार कमाई भयो भने एकदिनमै ठिक्क हुन्छ ।’

५० वर्ष भयो रिक्सा चलाउन थालेको, १४ वर्षे कलिलो उमेरमा नै रिक्सा चलाउन थालेपछि अरु सीप सिक्ने मौका नै मिलेन । रिक्सा चलाएर नै जिन्दगी बित्यो । ६६ वर्षीय तामाङले भन्नुभयो, ‘अब त ज्यानले पनि साथ दिंदैन । दुई वर्ष चलाएर पशुपति जाने हो । उतै बस्नुपर्ला ।’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘जिन्दगी पनि रिक्सा जस्तै हो । भाग्यमा भए सवारी मिल्छ, नत्र पैसा नै हुँदैन ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया