'प्रधानमन्त्रीले 'ब्रेकफास्ट' खानु भयाे, 'ह्यान्डसम' देखिनु भएकाे छ'

 कात्तिक १३, २०७५ मंगलबार ११:०:२३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं – अस्वस्थ भएपछि सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य  अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । मंगलबार बिहान १० बजेको मेडिकल रिपोर्टमा छातीको संक्रमण कम हुँदै गएको चिकित्सकहरुले बताएका हुन् । उहाँको रक्तपरीक्षण र एक्स रेको रिपोर्ट निकै सकारात्मक देखिएको छ । 

प्रधानमन्त्री ओली निकै 'फ्रेस' देखिनुभएकाे उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिनुभयो । "उहाँले आज मज्जाले ब्रेकफास्ट खानुभयो,  दाह्री काटेर  चिटिक्क हुनुभएको छ" डाक्टर सायमीले उज्यालो अनलाइनसँग भन्नुभयो "तपाईं त आज खुब ह्यान्डसम देखिनुभएको छ भनेर  मैले त जिस्काइदिएँ, मज्जाले हास्नुभयो ।"

उहाँ बालुवाटार जान आत्तिएको भन्दै डाक्टर सायमीले अझै २ दिन अस्पतालमै राखिने जानकारी दिनुभयो । ओलीको रक्तचाप, छातीको संक्रमण, ज्वरो, खोकीलगायतका सबै समस्या कम भएको उहाँको भनाई छ । 

भेटघाटमा कन्ट्रोल

डाक्टरहरुले ओलीलाई भेट्न आउनेलाई निकै कन्ट्रोल गरिएको बताएका छन् । आफूहरु सोमबार दिउँसोदेखि ओलीको जाँच र भेटघाट नियन्त्रणमा व्यस्त रहेको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिनुभयो ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरालगायतले प्रधानमन्त्रीलाई भेटेका थिए । तर अन्य धेरै नेता भेट्न नपाई फर्किएका थिए । 

मंगलबार बिहान पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र कांग्रेस नेता कृष्णप्रसाद सिटाैलाले ढोकाबाट मात्र ओलीसँग कुरा गरेका थिए । उहाँहरुबीच हात हल्लाउने र सामान्य ठट्यौली मात्र भएको डाक्टर सायमीले जानकारी दिनुभयो । 

'बालुवाटारमा भीड भयो भनेर हामीले अस्पताल ल्याएका हौँ, यता पनि धेरै भेटघाट हुँदा समस्या हुन्छ त्यसैले भेटघाट कन्ट्रोल गरेका छौँ ' सायमीले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया