ओलाङचुङगोला जाेड्ने तमोर करिडोर सडक निर्माणको कार्य अन्तिम चरणमा

 जेठ २६, २०७५ शनिबार ९:९:५४ | उज्यालो सहकर्मी

धनकुटा – धनकुटाको मुलघाटदेखि ताप्लेजुङ हुँदै चीनको सिमानामा रहेको ओलाङचुङगोलासम्मको तमोर करिडोर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

धनकुटाको मुलघाटदेखि २०६६ सालबाट सुुरु गरिएको तमोर करिडोर अन्तरगतको ट्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । तमोर करिडोर सडकले मध्यपहाडी लोकमार्गलाई जोड्न करिब २५ किलोमिटर रहेको छ भने ताप्लेजुङ हुँदै चीनको सिमानामा रहेको ओलाङचुङगोलालाई जोड्न करिब ३० किलोमिटर मात्र रहेको ताप्लेजुङ ओलाङचुङगोला सडक आयोजना ताप्लेजुङका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–२, मा रहेको मुलघाटदेखि शुरु भई पाँचथरको लुबुघाट–माझीटार–ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्मको सडकको लागि ट्याक खोल्ने कार्य अहिले पनि जारी छ । तमोर करिडोर सडकलाई ब्लक–ब्लक छुट्याएर धनकुटा, पाँचथर, ताप्लेजुङ तीनै जिल्लाबाट टेण्डर प्रक्रिया मार्फत काम अगाडि बढाइएको छ । जसले गर्दा काम छिटो सक्न सहज हुनेछ ।

धनकुटादेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ धनकुटाका निर्वाचित पूर्व सभासद् हेमराज भण्डारीको समयमा २०६५ सालमा सांसद विकास कोषको ८ लाख रुपैयाँ रकम छुट्याएर कुरुलेतेनुपा–बुढिमोरङ उपभोक्ता समिति गठन गरी सर्भे शुरु गरिएको थियो ।

डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला एक करोड ५० लाख रुपैयाँ रकमान्तर गरी बजेट छुट्याउन सफल भएपछि सडक डिभिजन कार्यालय धनकुटाले त्यो सडकको विस्तृत सर्भे गरी काम अगाडि बढाएको पूर्व सभासद हेमराज भण्डारीले जानकारी दिनुभयो । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारले त्यो सडक आयोजनालाई राष्ट्रिय योजनामा समावेश गरी राष्ट्रिय योजना अन्तरगत कार्य अगाडि बढी रहेको भण्डारीको भनाई छ ।

अहिले मुलघाटदेखि ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्मको सडक निर्माण आयोजना ताप्लेजुङ ओलाङचुङगोला सडक योजना ताप्लेजुङले हेर्दै आएको छ । यता मुलघाटदेखि चतरासम्मको सडक आयोजना भने मध्यपहाडी आयोजना पूर्वी खण्डले हेर्दै आएको सडक योजना ताप्लेजुङका प्रमुख नेपालीले बताउनुभयो ।

तमोर करिडोर सडकले मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ । तमोर करिडोर सडक ओलाङचुङ गोलादेखि धनकुटाको मुलघाटसम्म १ सय ८० किलोमीटर रहेको छ भने प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा रहेको रानी भन्सारसम्मको दूरी २ सय ८० किलोमिटर रहेको छ ।

अहिले मध्यपहाडी आयोजना पूर्वी खण्डले हेर्दै आएको सडक मध्ये १ सय ४० किलोमिटर सडकको चौडा निर्माण गरी ग्राभेल गर्ने कार्य भइरहेको सडक योजना प्रमुख नेपालीले बताउनुभयो । बाँकी सडक निर्माणको लागि पनि टेण्डर आब्हान गरी आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको छ । तमोर करिडोर सडकखण्ड अन्तरगत साना ठूला गरी करिब १० वटा पुल निर्माण हुने भएका छन् ।

तमोर करिडोरलाई शुरुमा मुलघाटदेखि ओलाङचुङगोलासम्म जोड्ने लक्ष्यका साथ अगाडि बढाएको भए पनि अहिले त्यसलाई विस्तार गरेर मुलघाटबाट छिन्ताङको त्रिवेणी हुँदै अरुण नदीमा पुल निर्माण गरेर दुधकोशीको किनारै किनार उदयपूरको घूर्मी जोड्ने लक्ष्य राखिएको छ । त्यसो गर्न सकिएमा पूर्वी पहाडी ७ जिल्लालाई तमोर करिडोरले जोड्नेछ । सोही योजना अनुरुप योगेश भट्राईको संयोजकत्वमा समिति निर्माण गरी कार्य अगाडि बढाइएको छ । 

तमोर करिडोर सडक निर्माण अन्तरगत अहिलेसम्म करिब ४० करोड रुपैयाँ खर्च भइसकेको छ । बाँकी कति रकम लाग्ने भन्ने अहिलेसम्म यकिन नभएको नभएको नेपालीले बताउनुभयो । तमोर करिडोर सडक निर्माण सम्पन्न भएपछि चीन र भारत जोड्ने नेपालकै छोटो दूरीको सडक मार्ग बन्नेछ ।

तमोर करिडोर सडक निर्माण भएपछि पूर्वी पहाडी ४ जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई २० किलोमीटर दूरीको आसपासमा जोडिन्छ । त्यति मात्र हैन, काठमाडौं आवतजावतको लागि पनि छोटो दूरी पर्दछ ।

भारतको जोगवनी र चीनको तिब्बतमा रहेको रियू व्यापारिक केन्द्रलाई यस सडक मार्गले जोड्नेछ । दुई ठूला देशबीच नेपालको बाटो हुँदै प्रत्यक्ष व्यापार सेवा सञ्चालन भए पनि नेपालको आर्थिक बृद्धिदरमा पनि टेवा पु¥याउने पूर्व सांसद भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया