सरकार, काठमाडौंका सडकलाई कहिलेसम्म पासोझैँ बनाउने ?

 कात्तिक १४, २०७५ बुधबार १३:५९:३९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – शुक्रबार राति बल्खु–कीर्तिपुर सडक अन्तर्गत त्रिभुवन विश्वविद्यालयको गेट अघिल्तिर बीच सडकको खाल्डोमा परेर बल्खुका श्यामसुन्दर श्रेष्ठको ज्यान गयो । मेलम्चीको पाइप बिच्छ्याउन खनिएको खाल्डोमा स्ल्याब नराख्दा यस्तो दुखद दुर्घटना भएको हो ।

यस्तै अघिल्लो वर्ष नेपालटारमा सडक छेउको नालीमा बगेर एक बालिकाको ज्यान गयो । पानीले भरिएको सडक छेउबाट हिँड्दै गर्दा खुल्ला छोडिएको ढलको बेगले ती बालिकालाई बगाएको थियो । 

सडक विस्तार भनिन्छ, तर सडकको मूल भागमा मात्र पिच गरेर काम सम्पन्न भएको घोषणा गरिन्छ । सडक छेउछाउको फुटपाथलाई ध्यान दिइँदैन । ढल व्यवस्थापनलाई महत्व दिइँदैन । छेउछाउमा भएका बिजुलीका पोललाई जस्ताको त्यस्तै छोडिन्छ । जसको परिणाम यस्ता दुर्घटनाहरु निम्तिने गर्छन् ।

शहरका विभिन्न ठाउँका सडकहरुको दुर्दशा अहिले यस्तै छ । गोंगबुदेखि ठमेलसम्मको सडक चौडा पार्ने काम भयो, तर बिजुलीका पोलहरु सडकमै पर्ने गरेर पिच गरियो । यस्तै कालिमाटीदेखि कलंकीसम्मको सडक चौडा गर्ने काम गरियो, तर मान्छे हिँड्न पनि नमिल्ने खालको साँघुरो फुटपाथ राखेर विस्तार भयोे । 

यस्तै कलंकीदेखि थानकोटसम्मको सडक पनि विस्तार गर्ने भनेर काम सुरु भएको चार वर्ष बितिसक्दा पनि विस्तार हुन सकेको छैन । मुआब्जाको समस्या र स्थानीय बासिन्दाको विरोधका कारण अन्तिममा आएर जस्तो अवस्थामा छ त्यस्तैमा पिच गर्ने निर्णय भएको छ ।

सरोकारवाला निकाय के भन्छ ?

उपत्यकाभित्र भएका सडक विस्तार गर्ने जिम्मा उपत्यका सडक विस्तार आयोजनाको हो । यस्तै भत्केका सडक मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने काम जिल्ला सडक डिभिजन कार्यालयले गर्छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता सुशीलप्रसाद राजभण्डारी खानेपानीका पाइपहरु फुटेर नयाँ सडकहरुमा खाल्डा पर्ने गरेको बताउनुहुन्छ, ‘हामीले सडक अनुगमन गर्दै मर्मत गर्ने काम गरिरहेका छौँ ।’ तर पनि यसको लागि पर्याप्त बजेटको अभावको कारण कहिलेकाहीँ समयमै काम गर्न समस्या हुने गरेको बताउनुहुन्छ ।

सडक मर्मतको लागि वार्षिक रुपमा दुई करोड जति बजेट विनियोजन गरिँदै आएको भए पनि त्योे कमै भएको उहाँको भनाई छ ।

यस्तै उपत्यका सडक डिभिजन आयोजनाका प्रमुख दिपक केसी बन्नुपर्ने र विस्तार गर्नुपर्ने सडक डिजाइनमा नभएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार तीन वर्ष अगाडिसम्मका योजनाहरुमा मुआब्जाको समस्या हुँदा गर्नुपर्ने डिजाइनमा सडक विस्तार गर्न सकिएको थिएन । 

सडक छेउमा भएका घरहरुलाई हटाउन नसक्दा बाध्य भएर त्यही अवस्थामा सडक विस्तार गर्नुपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार, मुआब्जा नदिएरै सरकारले सडक विस्तार गर्न खोज्दा स्थानीयहरुले हट्न नमानेपछि जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा सडक पिच गर्नुपरिरहेको छ ।

त्यतिबेला सरकाले घरधनीलाई मुआब्जा नदिने भनेकाले सडक विस्तार गर्न समस्या भएको थियो । तर अघिल्लो वर्ष असोज १२ गते भएको निर्णय अनुसार यही असारमा सर्वोच्च अदालतले नै मुआब्जा दिएर सडक विस्तार गर्ने भन्ने निर्णय गरेको छ । अब बन्ने सडक विस्तारको काम डिजाइनमा नै हुने बताउनुहुन्छ केसी ।

कसरी न्यूनीकरण गर्न सकिन्छ 

आज सडक पिच गरिन्छ, भोलिपल्ट नै त्यसलाई उप्काएर पानीका पाइप बिछ्याउने काम हुन्छ । पिच गरिसकेपछि ह्यूम पाइप राख्ने कार्य हुन्छ । जसले गर्दा सडकको गुणस्तर सखाप भएर जान्छ । 

सडक विस्तार आयोजनाका प्रवक्ता इञ्जिनियर विश्वविजयलाल श्रेष्ठ बताउनुहुन्छ, ‘हामीमा समन्वयको अभाव छ । एक विभागले अर्को विभागसँग सल्लाह नै नगरेर, अध्ययन नै नगरेर काम गरिदिन्छ ।’ भ्रष्ट प्रशासन र चाकरी व्यवस्थाले ठेक्का दिने काममा नै सरकार चुक्ने गरेको उहाँ बताउनुहुन्छ ।

अहिले काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेकोले पनि कतिपय ठाउँमा सडकलाई व्यस्थित गर्न सकिएको छैन । काठमाडौंको धुलोधुवाँ र खुल्ला नालाहरु बढ्नुमा मेलम्ची खानेपानी विस्तारको कारण पनि एक हो । तर अब मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा वितरण भएसँगै सडकका सानातिना समस्या पनि आफै समाधान भएर जाने प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ । 

सडक विस्तारको लागि वार्षिक करोडौं बजेट विनियोजन भए पनि राजधानीभित्रैका सडकहरु मृत्युमार्ग बनेका छन् । यहाँ दैनिक कुनै न कुनै कारणले एकजना यात्रुले ज्यान गुमाउनुपरेको नेपाल प्रहरीको रेकर्डले जनाएको छ । अव्यवस्थित र बीच रोडमै ज्यान  गुमाउनुपर्ने अवस्था छ । जसमा साँघुरा सडक, सडकका खाल्डाखुल्डी र नालाहरु घातक सावित भएका छन् । 

कीर्तिपुरकै सडकको कुरालाई उदाहरणका लागि लिन सकिन्छ ।  सरोकारवाला निकायले ढलको ढकनी लगाउन बिर्सिँदा एक जना विश्व साइकलयात्रीले ज्यान गुमाउन पुगे । सडकको बीचमै नागरिकको ज्यानै लिने पासो थाप्ने अनि बिर्सिएछ भनेर जिम्मेवारीबाट पन्छिन मिल्छ र ? दुर्घटना भएको केही समयमा नै ढल छोप्न भ्याउनेले त्यसअघि नै ध्यान दिएको भए यस्तो अप्रिय घटना हुने नै थिएन ।

विदेशी प्रधानमन्त्री आउँदा होस् अथवा बिमस्टेक र सार्कको कार्यक्रम आयोजना गर्दा होस् । सहरका प्रमुख सडकहरुमा भएका खाल्डाहरु रातारात पुर्ने काम हुन्छ तर यही सडकको कारणले मान्छेको ज्यानै जाने गरेर घटना घट्दा पनि सम्बन्धित निकाय सधैँ मौन बस्छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया