१८ सय मेगावाटका आयोजना ‘रेडी टु गो’ अवस्थामा, लगानी ३ खर्ब

 कात्तिक १४, २०७५ बुधबार १७:२३:१५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – नेपाल विद्युत प्राधिकरण ३ खर्ब रुपैयाँ खर्च गरेर १८ सय मेगावाट क्षमताका जलविद्युत निर्माण गर्ने तयारीमा रहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ खर्ब रुपैयाँ खर्च लाग्ने १८ सय मेगावाट क्षमताका आयोजना निर्माणको लागि गृहकार्य भैरहेको जानकारी दिनुभयो । प्राधिकरणमा भएको कार्यक्रममा निर्देशक घिसिङले माथिल्लो तामाकोशी आयोजना पूरा भएपछि प्राधिकरणसँग आफ्नै ठूला आयोजना नहुने अवस्थाको अन्त्य गर्दै विभिन्न आयोजना निर्माणको अन्तिम तयारी भैरहेको जानकारी दिनुभएको हो । उहाँले लामो समयदेखि अल्झिएर रहेको चमेलिया परियोजना सम्पन्न भैसकेको, निक्कै ढिलाई भएको कुलेखानी पनि दुई तीन महिनाभित्र पूरा हुने र त्रिशूली थ्री ए को काम पनि निकै द्रुत गतिमा अघि बढेको घिसिङको दावी छ । 

‘नेपाल विद्युत प्राधिकरणले सुरु गरेका धेरै परियोजना सम्पन्न हुने चरणमा छन्, त्यसपछि हामीसँग कुनै पनि परियोजना नहुने अवस्थाको अन्त्य गर्दै हामीले अब नयाँ परियोजना सुरु गर्दैछौँ’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘हामीले अब चिलिमे र तामाकोशीजस्ता नमुना परियोजना अघि बढाउँछौँ ।’

प्राधिकरणकै स्वामित्वमा सुरु भैसकेका परियोजना

प्राधिकरणले १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत परियोजनाको ठेक्का सम्झौता गरिसकेको छ । ५० करोड ५० लाख अमेरिकी डलर सम्पूर्ण लागत रहेको परियोजना सन् २०२३ भित्र सक्ने लक्ष्य छ । 

यस्तै म्याग्दीमा ३२ मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना पनि सुरु भएको छ । लामो समय अल्झिएको यो आयोजनामा ठेकेदार परिवर्तन गरेर काम भैरहेको छ । 

यस्तै त्रिशूली थ्री बी परियोजना पनि सुरु भएको  छ ।  ३७ मेगावाट क्षमताको यो परियोजना पनि अब नरोकिने गरी अघि बढेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले योजना बनाउँदै गरेका परियोजना

नेपाल विद्युत प्राधिरणले माथिल्लो अरुणसहित १८ सय मेगावाट क्षमताका ठूला परियोजना बनाउने योजनासहित लगानी जुटाउने र मोडलको टुंगो  लगाउने काम गरिरहेको छ । अहिले निर्माण भैरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आउँदो वर्षको कात्तिकमा सम्पन्न भैसकेपछि प्राधिकरणले ठूलो परियोजनाको रुपमा माथिल्लो अरुण बनाउने योजना बनाएको छ । 

‘जनताको लगानीमा एकदमै राम्रो परियोजनाको रुपमा हामीले माथिल्लो अरुण परियोजनालाई लिएका छौँ, यसको पूर्व सम्भाव्यता अध्ययन भैसकेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘एक खर्बमा ८ सय ३० मेगावाट क्षमताको अपर अरुण जनताकै लगानीमा बन्नेमा हामी ढुक्क छौँ ।’

माथिल्लो तामाकोशी आयोजनाभन्दा पनि यो आयोजना राम्रो भएको भन्दै घिसिङले यसमा विश्व बैंकले ऋण सहयोग गर्न सक्ने बताउनुभयो ।

यस्तै ८ सय मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको विस्तृत डिजाइनको रिपोर्ट पनि अन्तिम चरणमा पुगेको छ । यसमा पनि झण्डै डेढ खर्ब रुपैयाँ खर्च लाग्न सक्ने प्राधिकरणको अनुमान छ । यसको लगानी जुटाउन एसियाली विकास बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग कुरा भैरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

यस्तै ६० मेगावाटको माथिल्लो मोदी पनि प्राधिकरणले नै बनाउँदैछ । यसको लागि १२ अर्ब रुपैयाँ खर्च लाग्ने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले एक सय मेगावाट क्षमताको तामाकोशी ५ बनाउँदैछ । यसको ठेक्का प्रक्रिया सुरु भैसकेको छ । यो पनि अहिलेको माथिल्लो तामाकोशी जस्तै कम्पनी मोडलमा बन्नेछ । 

‘३ खर्ब लगानी गरेर १८ सय मेगावाट जलविद्युत उत्पादन हुने परियोजना रेडी टु गो को अवस्थामा छन्, अब हामी ठेक्का लगाएर अघि बढ्दैछौँ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । 

प्राधिकरणले निर्माणको योजना बनाएका यी परियोजनामा लगानी जुटाउन खासै समस्या नहुने जनाएको छ । देशभित्रबाट ऋण लिँदा पनि नपुग्ने भएकाले यी परियोजनाको लागि विश्व बैंक, एडीबीलगायतबाट ऋण लिने प्राधिकरणको योजना छ ।

प्राधिकरणबाहेक निजी क्षेत्रले ५ हजार मेगावाट बराबरका आयोजना बनाउँदैछन् । यस्ता परियोजनाको विद्युत खरिद सम्झौता अर्थात पीपीए भैसकेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया