जुम्ला हिमाली क्षेत्रको पर्यटकीय हब: मन्त्री अधिकारी

 कात्तिक १४, २०७५ बुधबार १८:५५:३८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जुम्लालाई हिमाली क्षेत्रकै पर्यटक हबको रुपमा विकास गरिने बताउनु भएको छ । 

दि हिमालयन एसोसियशन जुम्लाको पहलमा जुम्लामा निर्माण भएको बृहत्त शान्ति स्तुपा (डुडेल चैत्य) को उद्घाटन गर्न आउनुभएका मन्त्री अधिकारीले कर्णाली पर्यटकीय मुहानको खानी भएकाले पूर्वाधार तयार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले रारालाई बृहत्त पर्यटकीय विकास, सिंजा सभ्यताको संग्रहालयसहितका विभिन्न पर्यटकीय प्याकेजका कार्यक्रमहरुमा सरकारले प्रथामिकता राख्ने बताउनुभयो । 

कर्णाली पर्यटन वर्षको घोषणा गरेपछि रारा आउने पर्यटक बढेकाले अब पूर्वाधारमा प्रथामिकता दिनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । उहाँले कर्णालीलाई पर्यटनको हब बनाउन जुम्लामा ४० सिटे जहाज आवश्यक भएको भन्दै त्यसको अवलोकन र अध्ययनसमेत गरिने बताउनुभयो ।

यसैगरी साविकको कर्णालीलाई मध्यनजर गरी साना जहाजहरु पनि जुम्लाबाट आवतजावत गर्न आवश्यक रहेको र प्रक्रिया अगाडि बढाइरहेको उहाँले बताउनुभयोे ।

बौद्ध समुदायको पहलमा निर्माण गरिएको शान्ति स्तुपा जुम्ला उपत्यका नियाल्ने प्रभावकारी स्थान भएकाले पर्यटकीय हिसावले नमुना स्थापित हुँदै गएको छ ।

करिब २७ करोड लगानीमा निर्माण भएको शान्ति स्तुपाको उचाइ ७२ फीट र ३२ फीट चौडाइ रहेको छ । दि हिमालयन एसोसियशनका अध्यक्ष कार्मा ठिले लामाले विश्वमा हिंसा बढ्दै गइरहेकोले शान्तिका लागि स्तुपाको स्थापना भएको बताउनुभयो ।

बौद्ध समुदायका धार्मिक गुरु तथा विशिष्ट अतिथि रावजम रिम्पोचेले संसारमा शान्ति नै मानिसका लागि सवैभन्दा ठूलो भएकाले स्तुपाले मानिसमा शान्तिको उर्जा दिने र जुम्लामा पर्यटकीय तथा धार्मिक महत्वको ठूलो धरोहरको रुपमा स्थापित भएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया