कर्णाली प्रदेश : बजेट वितरण समावेशी नभएको भन्दै सरकारको चर्को आलोचना

 कात्तिक १४, २०७५ बुधबार १९:२४:११ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका सांसदहरुले बजेट वितरण समावेशी नभएको भन्दै सरकारकाले चर्को आलोचना गरेका छन् ।

सरकारले उपलब्ध गराएको रातो किताबका विषयमा आफ्नो धारणा राख्दै सांसदहरुले बजेट समावेशी नभएको आलोचना गरेका हुन् । बुधबारको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष र सत्ता पक्षकैै सांसदहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

सत्ता पक्षकै सांसदहरुले बजेट वितरणमा काखा र पाखा गरेको आरोप लगाएका छन् । सांसदहरुले समावेशीहरुको आधारमा बजेट नआएको भन्दै अब कार्यान्वयनमा पनि चिन्ता व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेटको आलोचना गर्दै आफ्ना र आफन्तलाई पोस्ने गरी बजेट बाँडेको बताउनुभयो ।

‘बजेट गाई वितरण गरिए जस्तो गरी वितरण गरिएको छ । नातागोतालाई बजेट बाँडिएको छ’, उहाँले भन्नुभयो, ‘आफ्ना क्षेत्रमा धेरै बजेट पार्ने र अन्य ठाउँमा कम बजेट पारेको पनि देखियो ।’ उहाँले  भोग, रोग र शोकले थलिएको कर्णाली प्रदेशलाई यस्तो योजना र बजेटलले समृद्ध गराउन नसकिने बताउनुभयो । शाहीले भ्रष्टाचार गर्न प्रोत्साहन मिल्ने गरी बजेट आएको भन्दै बजेट कार्यान्वयनको आश नहरेको चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै नेकपाका सांसद अम्बरबहादुर थापाले बजेटले नागरिकको जनजीविका कसरी उठान सक्छ भन्ने र्फ केन्द्रीत नभएको बताउनुभयो । ‘यो बजेटले यहाँको नागरिकको जनजीविकालाई कसरी उठान गर्न सक्छ ? कसै गरी ठोस योजना बनाउनेतर्फ यो बजेट केन्द्रीत छैन्’, उहाँले भन्नुभयो, ‘आर्यआर्जनलाई अघि बढाउन सकोस भन्ने सुझाव दिँदा दिँदै बजेट त्यसअनुसार आएन ।’

नेकपाका सांसद विन्दमान विष्टले सरकारले ल्याएको यस्तो बजेट नागरिकलाई बाँडेको सपना पूरा नहुने बताउनुभयो । बजेट पारित गर्दा उल्लेख गरिएको शीर्षकहरुमा अहिले रातो किताबमा रकम छुट्टाउँदा कुनै शीर्षकमा रकम नछुट्याइएको बताउनुभयो ।

‘मन्त्री भएर आफूलाई जे मन लाग्यो त्यही गर्न पाइन्छ ? मन्त्री भए पछि मात्र आफ्नो ठाउँमा विकास हुन्छ ?’, उहाँले भन्नभयो, ‘यसरी नागरिकको सपना पूरा हुुँदैन् । हामीले देखेको समृद्धि पूरा हुँदैन् ।’

अन्तिम अपडेट: बैशाख ३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया