कुश्मा नगरपालिकाले गर्‍याे सरकारी कार्यालय ‘कब्जा’

 कात्तिक १४, २०७५ बुधबार २०:४:३१ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतको सदरमुकाम कुश्मा नगरपालिकामा खाली रहेका दुई सरकारी कार्यालयहरु बुधबार कुश्मा नगरपालिकाले कब्जा गरेको छ । 

कुश्मा नगरपालिकाका वडा अध्यक्षहरु र कर्मचारी पुगेर दुई सरकारी कार्यालयमा नगर कार्यपालिकाको साइनबोर्ड टाँगेका हुन् । कुश्मामा रहेका साविकको जिल्ला पशुसेवा कार्यालय र सीप विकास तालिम केन्द्रको भवनमा नगरपालिकाले बोर्ड टाँगेको हो । कुश्मा नगरपालिका भाडाको घरमा बस्दै आएको छ भने विभिन्न शाखाहरुका लागि कुनै कार्यकक्ष छैन । 

नगरपालिकाका शाखाहरु कार्यालयविहीन बनेको अवस्थामा  गण्डकी प्रदेश सरकार मातहतका कार्यालयहरु अनावश्यक रुपमा पुराना भवनहरु राखेर बसेपछि बाध्य भएर नगरपालिकाले आफ्नो बोर्ड राखेको दावी जनप्रतिनिधि र कर्मचारीको छ । ‘प्रदेश मातहतका कार्यालयहरुले अनावश्यक रुपमा भवन ओगटेर बस्ने तर नगरपालिकाले भवन अभावमा दैनिक कार्य सम्पादन समेत पूरा गर्न नसक्ने अवस्था आएका कारण बाध्य भएर भवन कब्जा गर्न पुगेका हौँ’, वडा नम्बर ११ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक शिव पौडेलले भन्नुभयो । 

कुश्मा नगरपालिकाको कार्यालयलाई जिल्ला समन्वय समिति भएको स्थानमा स्थानान्तरण गर्ने र विभिन्न शाखाहरु बड्गाउँका भवनमा राख्ने योजना रहेको उनीहरुको भनाई छ । नगरपालिकालाई कुनै पनि सरकारी भवन उपलब्ध नगराउने षड्यन्त्र देखिएपछि सुझबुझपूर्ण ढंगले नै खाली भएका कार्यालयहरुमा नगर कार्यपालिकाको बोर्ड राखिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले बताउनुभयो । 

प्रदेश सरकार मातहत भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र तथा सडक पूर्वाधार विकास कार्यालय स्थापना भएका छन । जिल्ला शिक्षा समन्वय इकाई रहेको पुरानो जिल्ला शिक्षा कार्यालयमा नै सञ्चालन भैरहेको छ भने विद्यालय भवन निर्माण गर्ने आयोजना कार्यालय भने पुरानो महिला तथा बालबालिका कार्यालयमा राखिएको छ । दुई वटै कार्यालय एकै स्थानबाट सञ्चालन गर्न सकिन्छ । यसैगरी प्रदेशको मन्त्रालय मातहतका सबै कार्यालयहरु एकै स्थानबाट सञ्चालन गर्न सकिने भए पनि सिंगो कार्यालयहरु कब्जा गरेर बसिराखेको आरोप नगरपालिकाको छ ।

जिल्ला समन्वय समिति, स्थानीय प्रशासनसँगको समन्वयबिना कार्यालयहरुमा धमाधम बोर्ड राखिएको छ । कार्यालयमा बोर्ड राख्ने क्रममा नगरपालिकाका प्रमुख र उपप्रमुख भने अनुपस्थित थिए । नगरप्रमुख रामचन्द्र जोशी विदेश भ्रमणमा हुनुहुन्छ भने उपप्रमुख सिता काफ्ले लामिछाने भने अनुपस्थित हुनुहुन्थ्यो ।
     

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया