यस्तो बन्दैछ धरहरा

 कात्तिक १५, २०७५ बिहिबार १०:२०:१७ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – भूकम्पपछि सबैभन्दा धेरै चासो र चर्चाका रुपमा रहेको धरहरा बनाउने काम बल्ल सुरु भएको छ । भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ धरहरा बनाउन थालिएको हो । 

पुरानो धरहराले ओगटेको ६ रोपनी, गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी गरी २९ रोपनी जग्गामा धरहरा बनाउने काम सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा ११ तलाको बन्ने

२०७२ सालको भूकम्पअघि नौ तला रहेको धरहरामा नयाँ बनाउँदा दुई तला थप हुने भएको छ । १९९० साल माघ २ गतेको भूकम्पअघि पनि धरहरा ११ तलाकै थियो । त्यो बेला भूकम्पले बार्दली भन्दा माथिको भाग दुई तला भत्किएपछि नौ तलामा पुनर्निर्माण गरिएको थियो । 

२०७२ सालको भूकम्पले धरहरा ढल्यो र ठुटो मात्र बाँकी रह्यो । अहिले प्राधिकरणले जीआईईटीसी रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मेवारी दिएको छ । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा बनाउनेछ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरका अनुसार अहिले सुन्धारामा रहेको धरहराको ठुटोको झण्डै १०/११ मिटर पूर्वतिर छेवैमा नयाँ धरहरा बन्नेछ ।

१ सेकेन्डमा एक मिटर स्पीडमा चढ्न र ओर्लन सकिने

पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । किनभने त्यसभित्र दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा भर्‍याङ पनि रहन्छ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । लिफ्टको स्पीड एक मिटर प्रतिसेकेन्ड हुनेछ ।  १ सेकेन्डमा एक मिटर स्पीडमा चढ्न र ओर्लन सकिने मानन्धरले जानकारी दिनुभयो । 

तीनतले भूमिगत पार्किङ 

धरहराको बेसमेन्टमा तीनतलाको सानो घर हुनेछ । तीनतले पार्किङमा झण्डै एक हजार सवारीसाधन पार्किङ गर्न सकिनेछ । झण्डै ४ सय गाडी र ६ सय मोटरसाइकल राख्न सकिनेछ । साना गाडी र मोटरसाइकल राख्न सकिने भएकाले धरहरा चढ्न जानेलाई पार्किङको समस्या हुनेछैन । न्यूरोड, टुडिखेल र अन्य ठाउँ घुम्न जानेहरुले समेत गाडी पार्किङ गर्न सक्नेछन् । 

धरहरामा सुविधै सुविधा

धरहरा परिसरमा पार्किङ सहित रेष्टुराँ, बगैंचा, पुस्तकालय लगाएत सुविधै सुविधा हुनेछन् । गोस्वारा हुलाक भवन भत्काएर पार्क बनाइनेछ । पार्कभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेना गृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

नेपाल चिनाउने वस्तुहरु बेच्ने पसल हुनेछन् । म्यूजिकल फाउन्टेनका रुपमा पानी चल्नेछ । धरहरा रातिको समयमा अझै रमणीय हुनेछ । रातको समयमा काठमाडौं उपत्यकाको झिलिमिली देखिने सिङगो स्तम्भकै रुपमा धरहरा रहने मानन्धरले बताउनुभयो ।

केही दिनमै शिलान्यास हुने

सरकारले २०७२ साल फागुन ४ गते धरहरा पुनर्निर्माण अभियान सुरु गरेको थियो । तर वितेका ३२ महिनामा पुरातत्व विभागले पनि धरहरा बनाउने चासो देखाएन । नेपाल टेलिकम पनि जिम्मा लिएर पछि हट्यो ।

टेलिकमले २०७४ असोजमा हात झिकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले जिम्मा लिएर धरहरा पुनर्निर्माणको काम सुरु भएको हो । यसअघि सरकारको नेतृत्व गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो धरहरा, म बनाउँछु अभियान सुरु गरी आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरी धरहरा पुनर्निर्माण कोष समेत खडा गर्नुभएको थियो । 

‘धरहरा पुनर्निर्माणमा कोषमा झण्डै २४ करोड रुपैयाँ जम्मा भएको छ, ‘मेरो धरहरा मै बनाउँछु भन्ने जुन उहाँको स्लोगन थियो, त्यसैअनुरुप अहिले काम सुरु भएको छ′ प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख मानन्धरले बताउनुभयो । प्रधानमन्त्री ओलीकै इच्छा अनुसार केही दिन भित्रैमा उहाँको समय लिएर शिलान्यास गर्ने तयारी भैरहेको पनि मानन्धरले जानकारी दिनुभयो । 

दुई वर्षभित्रै बनिसक्ने

निर्माणकर्ता कम्पनीलाई निर्माणस्थल हस्तान्तरण गरेको दुई वर्षभित्र धरहरा पुनर्निर्माणको काम सम्पन्न हुनेछ । तर कम्पनीले दुई वर्षलाई छोटो समय भन्दै आएको छ । प्राधिकरणले भने पुनर्निर्माणमा पाएको समयअवधि भित्रै धरहराको पुनर्निर्माण सक्नका लागि दुई वर्षको अवधि तोकेको हो । 

‘धरहरा ठूलो सपिङ मल, अपाटमेन्ट जस्तो भब्य बिल्डिङ होइन त्यसैले तोकिएकै समयमा बन्नेछ′ मानन्धरले भन्नुभयो, ‘दुई वर्षभित्र काम गर्न नसके ड्यामेज चार्ज लाग्नेछ भने सकेको खण्डमा कम्पनीलाई पुरस्कृत गरिनेछ ।’ 

धरहरा १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए । ऐतिहासिक धरोहर, पर्यटकीय महत्व र काठमाडौंको सुन्दरताको पहिचान बोकेको धरहरा दुई वर्षभित्रैमा फेरि उठ्ने र भूकम्प प्रतिरोधी र सुरक्षित बन्ने प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया