'ग्याष्ट्रिकबाट यसरी बच्न सकिन्छ'

 कात्तिक १५, २०७५ बिहिबार ११:१६:५७ | विना न्याैपाने
unn.prixa.net

अनियमित र दुषित खानपानका कारण ग्याष्ट्रिकको समस्या सामान्य भैसकेको छ । धेरै नेपालीलाई यो रोगले सताएको पाइन्छ । ग्याष्ट्रिक  र यसबाट बच्ने उपायबारे साथी विना न्यौपानेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत पेट तथा कलेजो रोग विषेशज्ञ डा.अखिलेश कुमार कश्यपसँग कुराकानी गर्नु भएको छ ।

धेरैलाई त थाहा नै हुँदैन ग्यास्टिक भएको भनेर, कसरी बुझ्ने ?

पेटमा  आमाशयको भाग सुनिनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिसलाई भनिन्छ । कुनै पनि कारणबस पेटको कुनै पनि भाग सुन्नियो, इन्फलामेसन भयो भने त्यसैलाई नै ग्याष्ट्रिक भनेर बुझिन्छ ।

के कारणले ग्याष्ट्रिकको समस्या देखा पर्छ ? 

ग्याष्ट्रिकको प्रमुख कारण भनेको एचपाईलोरी ब्याक्टेरीया हो । त्यो पानी तथा खानेकुराबाट सर्ने गर्दछ । नेपालमा अहिलेसम्मको डाटा हेर्दा ६० प्रतिशत भन्दा बढी इन्फेक्टेड भएको छ । साधारणतय पेटमा यत्तिकै बसेको हुन्छ पछि कसै कसैलाई ग्याष्टिक, अल्सरको रुपमा देखा पर्ने हो । 

निम्न कारणले पनि यस्तो समस्या देखिन्छ :

 – नदुख्ने औषधीको सेवन गर्नु
 – खानपानमा ध्यान नदिनु
 –लामो समयसम्म भोकै बस्नु 
 – जंगफुडको प्रयोग गर्नु । 

ग्याष्ट्रिक भएको भनेर थाहा पाउनको लागि कस्ता खालका लक्षण देखा पर्छन् ?

– मुख्य लक्षण भनेको आमाशयको माथिल्लो भाग सुनिने नै हो । पछि ग्यास्टिक ,अल्सर, क्यान्सरको लक्षण एउटै हुन्छ । मुख्यतः यस्तो हुन्छ :

– माथिल्लो भाग पेट दुख्ने 
– मुखमा अमिलो पानी आउने, 
– खाली पेटमा डकार आउने, 
– खाँदा अप्ठेरो महसुस हुने, 
– राम्रोसँग वायु नखुल्ने, 
 – दिसा कालो हुने
– तौल घट्दै जाने हुन्छ । 
यस्ताखालका लक्षण देखियो भने अस्पताल गएर सामान्य ईन्डोसकोपी गर्दा कुन चरणमा छ भन्ने कुरा थाहा हुन्छ । 

यदि पहिलो चरणमा नै थाहा भयो भने अल्सर हुने संभावना हुँदैन हो ?

हो , यदि इन्डोसकोपीमा चौध दिनको कोर्ष दियो भने पुणरुपमा एचपाईलरी ठीक हुन्छ । एचपाईलरी ठीक भयो भने पछि अल्सर हुँदैन । 

अल्सर भए पछि ठीक हुन्छ  ? 

साधारणतय अल्सर आमाशयमा वा सानो आन्द्रामा हुन्छ । सानो आन्द्रामा हुने ९५ प्रतिशत ठीक हुन्छ । त्यसमा एचपाईलरीको उपचार गर्दा प्रायः सबै ठीक हुन्छ । तर  पेटमा भएको अल्सर पुरै ठीक हुँदैन क्यान्सरमा जाने सम्भावना हुन्छ । 

सुरुमा नै हामीले देख्यौं भने उपचार गर्न सकिन्छ तर अरु ठाउँमा फैलियो भने सर्जरी गर्न गाह्रो हुन्छ । त्यसैले पहिला नै सचेत हुनुपर्छ । मेडिकलमा गएर औषधि खाएर ठीक भयो भन्दै बस्यो भने झनै समस्या बढ्दै जान्छ । 

जाँच नगरी मेडिकलमा गएर औषधी खाँदा असर गर्छ हो ? 

औषधि त सबै उस्तै हो । तर, औषधि  खाएको बेलामा लक्षण कम भएको जस्तो हुन्छ अनि ठीक भयो भन्ने हुन्छ । भित्र एचपाईलोरी अथवा अल्सर नै भएको रहेछ भने त ठीक भएको हुँदैन । लक्षण मात्रै कम भएको जस्तो हुने हो । त्यसैले लामो समयसम्म आफैंले औषधि सेवन गर्नु हुँदैन ।

यस्ता खालका समस्या समाधानको लागि के गर्न सकिन्छ ?

यसको लागि इन्डोसकोपी नै हो । एचपाईलोरी परीक्षण दिसा र रगतबाट गर्न सकिन्छ । पहिलो चरणमा १४ दिनको मात्रै उपचार गरेपछि ठीक हुन्छ । यदि भएन भने मात्रै अरु एन्टिबाइटिक चलाउनु पर्छ । 

आफ्नो बानी व्यहोरा पनि सुधार्नु पर्छ । ग्याष्ट्रिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नु पर्ने हुन्छ । खानामा धेरै मसला भएको, चिल्लो, पिरो, अमिलो कम मात्रामा खाने गर्नुपर्छ । खाना खाने समय नियमित गर्नु पर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारीरिक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने गरेमा ग्यास्टिक कम गर्न सकिन्छ ।

ग्याष्ट्रिक लागेपछि कस्ता खालका जोखिम निम्त्याउँछ ?

ग्याष्ट्रिक आफैमा इनिसियल स्टेज हो । तर पछि बढ्दै गयो भने अल्सर हुन्छ । अल्सरलाई ध्यान नदिने हो भने यस्ता समस्या देखिन सक्छ :

– रगत बग्ने । 
– कालोदिसा हुने हुन्छ । 
– कहिले कम र कहिलेअल्सर फुटेर पुरै पेटमा नै संक्रमण हुने हुन्छ ।
– पेटमा नै अल्सर छ भने क्यान्सर हुने संभावना हुन्छ ।

ग्याष्ट्रिक भएपछि खानेकुरामा पनि ध्यान दिनुपर्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा लामो समयसम्म भोकै बस्नु हुँदैन । कम्तीमा पनि दिनको चारपटक खाना खानै पर्छ । १७, १८ घण्टा भोकै बस्दा पेटमा ग्याष्ट्रिक बढेर अल्सर नै हुन सक्ने सम्भावना हुन्छ । जंकफुड धेरै खानु हुँदैन । नरम तथा कडा खालका पेय पदार्थ खानु हुँदैन । धुमपानबाट पनि बच्नु पर्छ । 

ग्याष्ट्रिक नहोस् भनेर पहिला नै कस्तो खालको सावधानी अपनाउन सकिन्छ ? 

सबैभन्दा पहिला खानेकुरामा नै विचार पुर्याउनु पर्छ । धेरै चिल्लो खानेकुरा नखाने , अमिलो पिरो धेरै नखाने , एचपाईलरी ईन्फेकसन पानीबाट नै सर्ने भएकाले पानी , सलाद खाँदा विचार पुर्याउनु पर्छ । अनि लामो समयसम्म भोकै नबस्ने हो भने ग्याष्ट्रिकबाट बच्न सकिन्छ । 


 
 

अन्तिम अपडेट: चैत १५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया