जयनगर– बर्दिबास रेल्वे प्लेटफर्म निर्माणमा कमसल इँटाको प्रयोग

 कात्तिक १५, २०७५ बिहिबार १६:१८:३५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर भंगहा ब्रोडगेज रेल्वे लिक निर्माणमा गुणस्तरहीन काम भइरहेको छ । 

जयनगर–बर्दिबास ब्रोडगेज रेल्वे लिक निर्माण अन्तर्गत दोश्रो चरणमा जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर लिक निर्माणमा कमसल सामग्रीको प्रयोग भइरहेको फेला परेको हो ।

महोत्तरीको भंगहा नगरपालिका –५, भुतही स्टेशनमा निर्माण भइरहेको छेउको प्लेटफर्ममा एक नम्बर इँटाको साटो ठेकेदारले आफ्नो फाइदाका लागि कमसल इँटा प्रयोग गरिरहेका छन् ।

भारत सरकारको ७ अर्ब रुपैयाँको सहयोगमा निर्माण भइरहेको ६९ किलोमिटर जयनगर–बर्दिबास ब्रोडगेज रेल्वे निर्माण गर्न भारतीय इर्कन इन्टरनेसनल कम्पनीले ठेक्का लिएको हो । जसमा पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर लिक र भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा छ ।

त्यस्तै दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी ६९ किलोमिटर रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माण भइरहेको छ ।

कमसल इँटा प्रयोग गरेर धमाधम रेल्वेको भौत्तिक संरचना निर्माणको काम भइरहेको बेला गएको शुक्रबार पुगेको उज्यालो अनलाइनका संवाददातासँगको कुराकानीमा निर्माण खटिएका मिस्त्रीहरुले कुर्थादेखि भंगहासम्म यस्तै इँटा प्रयोग गरेको बताए ।

त्यसलगत्तै पुगेका भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले कमसल इँटाको प्रयोग भएर दुई नम्बरी काम भइरहेकाले तुरुन्त काम बन्द गराउनु भएको थियो । उहाँले कम्पनीका जिम्मेवार पदाधिकारीलाई नगरपालिका कार्यालयमा सम्झौता कागजातसहित उपस्थित हुन निर्देशनसमेत दिनुभएको थियो ।

काम बन्द गराएको केही समयपछि नगरपालिकामै पुगेका कम्पनीबाट साइटको काम हेर्ने ठकेदार कम्पनीका जितेन्द्र मिश्रले कम्पनीसँग दुई नम्बर मिठापाक इँटा प्रयोग गर्ने सम्झौता भएको बताउँदै जयनगरदेखि नै प्लेटफार्म निर्माणमा दुई नम्बर इँटाको प्रयोग भएको जानकारी गराउनु भएको थियो ।

‘दुई नम्बर मिठापाक इँटा प्रयोग हुने कम्पनीसँग सम्झौता भएको छ । तर यहाँका केही स्थानीय इँटा भट्टाले अन्तिम चरणमा आएर मिठापाक इँटाको साथै कमसल इँटा पनि पठाई दिएको छ ।’ उहाँले भन्नुभयो, ‘मिठापाक इँटासँगै खसालिदिएको केही कमसल इँटा पनि त्यसैसँगसँगै  प्रयोग गरिएको छ । केही इँटाभट्टा सञ्चालकले पहिला नै पैसा लिएर कमसल इँटा पनि मिसाएर खसाउने गरेको कारण यस्तो भएको हो ।’

रेल्वको प्लेटफर्म र अन्य भौतिक संरचना निर्माणमा ठकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर लापर्वाही तरिकाले काम गरिरहँदा समेत सम्बन्धित निकाय मुकदर्शक बनेका छन् । 

यता यस विषयमा रेल विभागका महानिर्देशक बलराम मिश्रले दुई नम्बर इँटा प्रयोग गर्ने सम्झौता नै भएको र त्यसैअनुसार काम भइरहेको आफूले जानकारी पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म महाप्रबन्धक भएको केही समय मात्र भएकाले यस विषयमा मैले दुई नम्बर इँटा प्रयोग गर्ने कम्पनीसँग सम्झौता भएको जानकारी पाएको छु । यदि तीन नम्बर र कमसल इँटाको प्रयोग भइरहेको छ भने यस विषयमा म निर्माण कम्पनीसँग तुरन्त कुरा गर्छु । र काम भइरहेको स्थानको विषयमा जानकारी लिएर कारबाही प्रक्रिया अघि बढाउँछु ।’
 
पहिलो चरणमा जयनगरदेखि जनकपुरसम्म ३४ किलोमिटर आउँदो मंसिरदेखि रेल्वे सेवा सञ्चालनको तयारी छ भने त्यसको ६ महिनाभित्र दोश्रो चरणमा धनुषाको कुर्थादेखि भंगहासम्म १८ किलोमिटर रेल्वे सेवा सञ्चालन गर्न धमाधम काम भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया