चोरको यस्तो बयान : भोलि पैसा दिउँला भनेपछि म त्यहीँ सुतेँ, छोरालाई सुनाएपछि हत्या गरेँ

 कात्तिक १५, २०७५ बिहिबार २०:६:१५ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको शारदा नगरपालिका–८, मार्केको सिमखर्कमा ५० वर्षीया केवली नेपालीको हत्या गर्ने युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । 

चोरी गर्ने उदेश्यले महिलाको घरमा  गएर हत्या गर्ने शारदा नगरपालिका –८, सिमखर्क बस्ने १९ वर्षीय राजु भनिने चिनिने वीरबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । असोज २५ गते राति ती युवकले महिलाको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।  

श्रीमानको मृत्युपश्चात मृतक नेपाली लामो समयदेखि तीन छोरा र दुई छोरीहरुसँग भारतमा बस्दै आएकी थिइन् । दसैँ मनाउन असोज २२ गते उनी घर फर्किएकी थिइन् । भारतबाट दसैँ मनाउन आएकाले ती महिलासँग धेरै पैसा हुन सक्छ भनेर चोरी गर्न गएका ती युवकले त्यहाँबाट मात्र दुई सय रुपैयाँ फेला पारे । 

पैसा चोर्न गएको अवस्थामा डोरीले घाँटी कसेर धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । 

केवली नेपाली आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको भन्ने टेलिफोनमार्फत जानकारी प्राप्त हुन साथ जिल्लाबाट प्रहरी घटनास्थलमा पुगेको थियो । हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर प्रयोग गरिएको थियो । अभियुक्तलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको हो । 

‘मैले पैसा चोर्न भनेर मृतक नेपालीको घरमा गई एक हातले चक्कु र अर्को हातले घाँटी समाई पैसा देउ भनेर माग्न खोजे,  तर ती महिलाले मसँग पैसा छैन । मैले पैसा रामबहादुर वलीको घरमा राख्न दिएकी छु भनेर एक हातले मेरो हात र अर्को हातले मेरो हातको चक्कु खोसिन्, त्यसै क्रममा उनको हातसमेत काटियो’, अभियुक्त वीरबहादुर बस्नेतले प्रहरीसँग गरिएको बयानमा भनेका छन् । 

‘चक्कु खोसेर ती महिलाले आफ्नो ओछ्यानमुनि राखिन्, मलाई यस्तो किन गर्छस् तँलाई म भोलि पैसा दिउँला भनेर सम्झाउन थालिन् । मलाई यतै सुत यतै बस भोलि पैसा दिउँला भनिन् र म त्यहीं सुतेँ’, उनले अनुसन्धानका क्रममा प्रहरीलाई यस्तो बयान दिएका छन् ।  

‘तर पछि आफू पैसा चोर्न आएको बारेमा मृतकले आफ्नो छोरालाई भनेपछि मलाई कुटपिट गर्छ भन्ने सोचेर ती महिलाको हत्या गरेको  हाे’, प्रहरीसँगकाे बयानमा बस्नेतले भनेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया