केशव स्थापित मन्त्रीबाट बर्खास्त

 कात्तिक १६, २०७५ शुक्रबार १५:३९:२७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यवहार गरेको भन्दै भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएकाे छ ।

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गर्नुभएको हो । मन्त्री स्थापितको काम र व्यवहार प्रति असन्तुष्ट रहनुभएका पौडेलले स्थापितलाई बर्खास्त गर्नुभएको हो ।

संविधानको धारा एक सय ६९ को उपधारा २ को खण्ड ख बमोजिम स्थापितलाई पद मुक्त गरिएको प्रदेश नम्बर ३ ले जनाएको छ । स्पथपितलार्इ बर्खास्त गरेपछि तीन नम्बर प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय भने मुख्यमन्त्री पौडेल आफैले राख्नुभएको छ ।

स्थापितलाई पद मुक्त गरेको चिठ्ठी भने तीन नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोइरालालाई बुझाइएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो । 

मन्त्री स्थापितलाई हटाउने अन्तिम तयारी अनुसार मुख्यमन्त्री पौडेल बिहीबार काठमाडौं जानुभएको थियो । उहाँले पार्टीसँगको सल्लाह र प्रधानमन्त्री केपी ओलीसँगको छलफलपछि शुक्रबार स्थापितलाई बर्खास्त गर्नुभएको हो ।

मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहनुभएका मन्त्री स्थापितलाई हटाउनका लागि दुई दिन अघिदेखि तयारी गरिएको थियो । बिहीबार नै मन्त्री स्थापितलाई बर्खास्थ गरेको पत्र तयार पारेर मुख्यमन्त्री पौडेल काठमाडौं जानुभएको थियो ।

काठमाडौमा सबैसँग सल्लाह गरेपछि मुख्यमन्त्री पौडेलले यस्तो कदम चाल्नुभएको हो । मुख्य मन्त्री पौडेलले तीन नम्बर प्रदेशका  अन्य मन्त्रीहरुसँग पनि सल्लाह गर्नुभएको थियो । मुख्यमन्त्री पौडेललाई मन्त्रिपरिषदको सधैँको बैठकमा मुख–मुखै लाग्ने, अभद्र व्यवहार गर्ने काम निरन्तर भएको र आफ्नो व्यवहार नसच्याएको भन्दै स्थापतिलाई बर्खास्त गरिएको पौडेलका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो ।

पौडेलले दिएका निर्देशन नमान्ने, आफ्ना मन्त्रालयमा नबस्ने, कामको गति सारै फितलो, मन्त्रिपरिषद बैठकको मर्यादामा अपमान गर्ने पटक–पटकको व्यवहारपछि स्थापितलाई हटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

दुईजना महिललाई यौन दुर्व्यवहार र उत्पीडनको आरोप खेपिरहेका प्रदेश नम्बर ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई पटक–पटक अभ्रद व्यवहार गरेको आरोप लगोको छ । #MeToo अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारीबाट यौन दुर्व्यवहारको आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उहाँ बर्खास्त हुनुभएको हो ।

मन्त्री भएदेखि नै मुख्यमन्त्रीको निर्देशनलाई अटेर गर्दै हिँडेका स्थापितले बुधबारको मन्त्रिपरिषद् बैठकमा पनि मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएपछि मन्त्री पदबाट हटाउने निर्णयमा पौडेल पुग्नुभएको हो । अन्य मन्त्रीहरुसँगको छलफलमा पनि स्थापितसँग काम गर्न नसकिने भन्दै असन्तुष्टि आएपछि हटाउनका लागि पार्टी नेतृत्वसँग छलफल थालिएको थियो ।

मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया