कामभन्दा कुरा धेरै गरेपछि मन्त्री स्थापितलाई हटाएको मुख्यमन्त्री पौडेलको दावी

मन्त्री बन्न दाैडधुप सुरु भैसक्याे

 कात्तिक १७, २०७५ शनिबार ९:४३:१६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने हुनुभएको छ । 

यस प्रदेशको कामको सबैभन्दा ठूलो गति देखाउने मन्त्रालयबाट यसअघि काम हुन नसकेपछि यो मन्त्रालयको कामको जिमेवारी अहिले आफैले लिएर यसबाट कामको गति देखाउन लाग्नुभएको हो । यस मन्त्रालयको काम आफैले अहिले गर्ने र प्रदेशको भौतिक पूर्वाधारको कामको ‘स्पीड’ अगाडि बढाएर मात्र मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । 

 

भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई शुक्रबार बर्खास्त गरेपछि यस मन्त्रालयमा मन्त्री बन्नका लागि नेकपा भित्रमा पार्टी नेतृत्वमा लबिङ सुरु भइसकेकाले तत्काल नियुक्त नगर्ने मुडमा पौडेल रहनुभएको छ । शुक्रबारबाट नै भौतिक पूर्वाधार विकास मन्त्रालयका समेत जिम्मेवारी सम्हाल्नुभएका पौडेलले यही मन्त्रालयबाट गरिने करिब १५ अर्ब रुपैयाँको खर्च गरेर कामको गति निकै अगाडि बढाउने सोचमा हुनुहुन्छ ।

मन्त्री बन्नका लागि तीन नम्बर प्रदेशका सांसदहरु नेताहरुको घरदैलोमा दौडधुप गरिरहेको समयमा तत्काल अहिले मन्त्री नियुक्त नगरिकन कामलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । 

मुख्यमन्त्री डोरमणि पौडेल यसभन्दा अगाडि जुन संघ संस्थामा बसेर काम गर्दा पनि देशैभरि चिनाउने र एक नम्बरको भएर काम गर्ने पुरानो बानी छ । मेहनत गरेर काम गर्नेलाई सम्मान गर्ने, हौसला प्रदान गर्ने, राम्रो र नयाँ काम छ भने सहयोग गर्ने, त्यसलाई प्रोत्साहित गर्ने उहाँको पहिलेदेखिकै बानी भएको उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन् । 

तीन नम्बर प्रदेश सरकारलाई देशकै उत्कृष्ट प्रदेश बनाउने मुख्यमन्त्री पौडेलको पहिलो इच्छा हो । हरेक मन्त्रालयले गरेको कामका विषयमा सबैजसो मन्त्रालयमा निरन्तर अनुगमन पनि मुख्यमन्त्री पौडेल आफैले गर्नुभएको छ । तर भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित मन्त्रालयमा नै नबस्ने, बसिहाले पनि काम भन्दा कुरा धेरै गर्ने, यस प्रदेशको सबैभन्दा धेरै रकम खर्च गर्नुपर्ने मन्त्रालयले नै काम नभएपछि पहिलेदेखि नै असन्तुष्ट हुनुहुन्थ्यो । 

मन्त्रालयको काम छिटो गर्नका लागि धेरै पटक मुख्यमन्त्री पौडेलले निर्देशन दिएको तर काममा तदारुकता देखाउनुको सट्टामा उल्टो मुखमुखै लागेपछि हटाइएको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया