नारायणगढ–मुग्लिन सडकखण्ड : यसरी गरिंदैछ पहिरो नियन्त्रण (तस्विर सहित)

 जेठ २६, २०७५ शनिबार १६:३८:२८ | राधेश्याम खतिवडा

चितवन - नारायणगढ मुग्लिन सडकखण्ड निर्माणको काम सकिए पनि पहिरोको चिन्ता कायमै छ ।

३३ दशमलव २ किलोमिटर लामो सडकखण्डमध्ये १७ दशमलव १ किलोमिटर सडक विस्तारका लागि पहाड काटिएको थियो । काटिएको पहाडबाट पहिरो झर्ने जोखिम रहेकाले पहिरो नियन्त्रणको काम भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ । 

सडकखण्डको १८ ठाउँमा पहिरोको जोखिम रहेको पहिचान गरी ती ठाउँमा पहिरो नझर्ने हिसाबले दुईवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।

दासढुङ्गादेखि चोरखोलासम्म न्यू टेक्निकल हाई-हिमालयन जेभीलाई ६ करोड रुपैयाँमा र  चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई-हिमालय हिमसगरमाथा जेभीलाई ८ करोड रुपैंयामा पहिरो खस्नबाट रोक्न गर्नुपर्ने काम गर्ने जिम्मा दिईएको आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर शिव खनालले सडक क्षेत्रमा चट्टान, साना ढुंगा, माटोको ढिस्को र गेग्रान खस्न सक्ने उच्च जोखिम रहेकाले पहिरो नियन्त्रण गर्न नयाँ प्रविधिसहित काम गरिरहेको जानकारी दिनुभयो ।

जोखिम कम गर्न दुईवटा ढुंगा जोड्ने, ढिस्को मिलाउने, भित्तोमा कुलो बनाएर पानी तर्काउने लगायत काम भइरहेको छ ।

यस्तै, उच्च जोखिम रहेका ६ ठाउँमा चट्टान झर्न नदिने संरचना निर्माण, जोडले सिमेण्ट फालेर जमाउने, ग्याबेन जाली लगाएर पहिरो रोक्ने  लगायत काम भइरहेको खनालले जानकारी दिनुभयो ।

खनालले पानी परेपछि काम गर्न नमिल्ने भएकाले वर्षाको मौसम अघि नै काम सक्ने गरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

गतवर्ष बर्षातको समयमा सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएपछि आयोजनाले अहिले समयमै पहिरो नियन्त्रणको काम सुरु गरेको छ ।

पहिरो नियन्त्रणको लागि काम गर्न २ सय १५ जना कामदारले दैनिक काम गरिरहेको आयोजनाले बताएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया