ट्रम्पका कारण अमेरिकाको इज्जत गुम्यो : इरान

 कात्तिक १७, २०७५ शनिबार १९:१९:१० | रासस
unn.prixa.net

राष्ट्रपति डोनल्ड ट्रम्पका कारण अमेरिकाको प्रतिष्ठा कमजोर भएको इरानले बताएको छ ।

इरानविरुद्ध प्रतिबन्ध लगाउने विषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताउनुभएको छ ।

खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, ‘अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन् । अमेरिकाको बेजोडको शक्ति र मजबुत अमेरिकी अर्थतन्त्र र सैन्य शक्ति पनि पछिल्ला सरकारका कारण कमजोर बन्दै गएको छ ।’

अमेरिकाद्वारा तेल लगायतका सामानमा सोमबारदेखि लागू हुने भनिएको इरानमाथि लगाइएको पछिल्लो प्रतिबन्धप्रति हल्का टिप्पणी गर्दै अमेरिकी सरकारको कट्टर आलोचक खामेनीले यो सफल नहुने बताएका हुन् ।

इरान र अमेरिकाबीचको विवाद ४० वर्ष लामो भएको भन्दै वासिङ्टनले इरानविरूद्ध सैन्य, आर्थिक तथा सञ्चारको प्रयोग गरी हराउन हरेक प्रयास गरेको तर हराउन विफल भएको छ, खामेनीले उल्लेख गरेका छन् ।

उने भनेका छन्, ‘विगत ४० वर्षको चुनौतिपछि एउटा प्रमुख सत्य के बनेको छ भने इश्लामिक गणतन्त्र इरानसँग अमेरिका सधैँ पराजित बनेको छ र इरान विजयी बनेको छ ।’

अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि इरानमाथि विभिन्न विषयमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाको पछिल्ला निर्णयहरूले सम्झौताका हस्ताक्षरकर्ता तथा विश्वका प्रभावशाली राष्ट्रहरू खुशी छैनन् ।

इरान भने आणविक सम्झौताको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । वासिङ्टनले भने पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको उक्त सम्झौता नमान्ने तर पुनः अर्को नयाँ सम्झौता गर्नुपर्ने बताउँदै आएको छ ।

नयाँ सम्झौतामा इरानले मध्यपूर्वमा गर्दै आएको हस्तक्षेप तथा हतियार आपूर्तिजस्ता मिसाइल कार्यक्रमलाई घटाउनुपर्ने अमेरिकी ट्रम्प प्रशासनको जिकिर छ । यो मागलाई तेहरानले अस्वीकार गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया