डाक्टर उपेन्द्र देवकोटा : जन्मघरमा पानी खाएपछि उज्यालो भयो अनुहार, तर बोली आएन

 जेठ २६, २०७५ शनिबार १७:३०:३१ | किरण लोहनी

गोरखा- आफ्नो जन्मघर पुग्ने र सिस्नेधाराको पानी खाने वरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको धोको पूरा भएको छ ।

पित्तथैलीको क्यान्सरको उपचार गराइरहेका डाक्टर देवकोटाको इच्छा अनुसार शनिवार उहाँको जन्मघर गोरखाको बोहोरागाउँ पुर्याइएको छ ।

काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार गराइरहेका डाक्टर देवकोटालाई काठमाडौबाट घर नजिकैसम्म हेलिकोप्टरमा र त्यहाँबाट स्ट्रेचरमा चढाएर जन्मघर पुर्याइएको थियो । 

उहाँलाई केहीबेर घरमा राखियो । उहाँसँगै रहेका छोरीहरुले सिस्नेधाराबाट बोतलमा पानी भरेर लगेर खुवाएका थिए । घरमा सुस्ताउने र सिस्नेधाराको पानी खाने आफ्नो इच्छा पूरा हुँदा उहाँको अनुहारमा सन्तुष्टिको उज्यालो फैलिएको उहाँसगै काठमाडौ‌बाट आएका डाक्टरहरुले बताएका थिए । 

‘अनुहार उज्यालो भएको थियो, यसले उहाँ होसमै रहेको कुरा पुष्टि हुन्छ,’ डाक्टरले भने,‘तर आवाज निकाल्न सक्नुभएन ।’

एउटा हेलिकोप्टरमा उपचारमा संलग्न चिकित्सकहरु र अर्को हेलिकोप्टरमा परिवारका सदस्यसहित देवकोटालाई जन्मघर पु-याएर काठमाडौ ल्याइएको हो । 

पालुङटार नगरपालिका ४ बोहोरागाउँमा रहेको जन्मघर २०३० सालमा आगो लागेर जलेपछि उहाँले नै पुनर्निर्माण गराउनुभएको थियो । 

त्यो घर २०७२ सालको भूकम्पले भत्काएपछि पुनर्निर्माण गराएर केही ठूलो पनि बनाइएको स्थानीय वासिन्दाले जानकारी दिए । त्यस घरमा उहाँ वर्षको कम्तिमा पनि ३ चोटी जाने गरेको र घरबाटै बिरामी पनि जाँच्ने गरेको गाउँलेले बताए ।  

डाक्टर देवकोटा काठमाडाैंबाट आउने थाहा पाएदेखि उहाँलाई हेर्न र भेट्न स्थानीय वासिन्दा, उहाँका विद्यार्थी, उहाँलाई पढाएका शिक्षक लगायत उपस्थित भएका थिए । 
देवकोटाको अवस्था देखेर उपस्थित सबै भावुक बनेका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया