दुध बेचेरै वार्षिक  ६ लाख आम्दानी

 कात्तिक १८, २०७५ आइतबार ९:४२:५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – चैनपुर नगरपालिका–१० खराङका स्थानीय कृष्ण दाहाल मोटरसाइकलमा दैनिक तुम्लिङ्गटार र खाँदबारीमा दुधको गाग्रो लिएर आइपुग्नु हुन्छ । बिहान ७ देखि ८ः३० बजे भित्र सदरमुकाम खाँदबारीको बजारमा मोटरसाइकलमा तीन वटा दुधको गाग्रो बोकेर उहाँ दुध बेच्दै हिँड्नु हुन्छ । 

तुम्लिङ्गटार र खाँदबारीमा उहाँका धेरै ग्राहक छन् । खराङ्ग र चैनपुरको बजार सानो भएकाले दुध बिक्री नहुने र सस्तो मूल्यमा दुध बेच्नु पर्ने भएकाले तुम्लिङ्गटार र खाँदबारी आउने गरेको दाहालले बताउनुभयो । 

खराङ्ग र चैनपुरमा प्रति लिटर ६०÷७० रुपैयाँमा बिक्री हुने दुध खाँदबारीमा ८०÷९० रुपैयाँमा बिक्री हुने गरेको छ । खराङ्गदखि खाँदबारी दैनिक एक डेढ घण्टाको बाटो मोटरसाइकलमा आवात–जावात गरेर पनि उहाँको वार्षिक ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ । 

दाहाल मोटरसाइकलमा दुध बोकेर आउने वित्तिकै खाँदबारीको चोक – चोकमा दुध लिन आउनेहरुको भीड लाग्ने गर्दछ । गएको २ वर्षदेखि चैनपुर–१० खराङदेखि खाँदबारीका सबै चिया पसल र बजारमा उहाँले दुध पुर्याउनुहुन्छ । 

प्रति गाग्रो ३० लिटरका दरले ९० लिटर दुध लिएर आएका दाहाललाई अहिलेसम्म दुध बिक्री नहुने हो की भनेर कहिल्यै चिन्ता लिनु परेको छैन । उहाँले भन्नुभयो ‘बजारको माग अनुसार दुध उपलब्ध गराउन सकेको छैन । बिक्री नहुने त कुरै छैन ।’
    
खाँदबारीमा झण्डै २० वटा भन्दा धेरै चिया पसलहरु छन् । पसलमा मात्र नभएर विभिन्न कार्यालय र व्यक्तिसमेत दाहाल ल्याउने दुधका ग्राहक छन् । खराङ्ग आसपासका क्षेत्रबाट दुध संकलन गरेर दाहालले बेच्न तुम्लिङ्गटार र खाँदबारी ल्याउन थालेपछि स्थानीय किसानहरुसमेत लाभान्वित भएका छन् ।

दाहालले आफ्नो गाईको दुधसँगै खराङ्ग आसपासका क्षेत्रबाट दुध संकलन गरेर तुम्लिङटारसम्म बेच्न ल्याउने गर्नुभएको छ । उहाँकाे चारअाेटा गाई दुहुना छन् । उहाँकाे घरमा मात्रै २५ / ३० लिटर दुध संकलन हुन्छ । आफ्नै गाईले मात्रै ३६ हजार रुपैंया मासिक आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । ‘आफूले पालेको गाईको दुध बेच्दा बेच्दै दुध ब्यापार नै सुरु भयो ।’ उहाँले भन्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया