श्रीमानले विदेशमा कमाए भन्दा मैले नेपालमै कमाएकाले जित्यो

 कात्तिक १८, २०७५ आइतबार १२:२४:३२ | मेरो कथा मेरो भोगाई

दौलमाया राई/ओखलढुङ्गा । 

श्रीमान् विदेश हिँडेपछि लगत्तै त घर चलाउन गाह्रो भयो । आफ्नो गाउँमा आफ्नै ठाउँमा त मलाई गाह्रो छ भने पराई देशमा उहाँलाई पनि त गाह्रो नै भयो होला नि । विदेशी भूमिमा, सुने भन्दा बढी त कसरी थाहा पाउनु र ।

बालबच्चा र घरव्यवहार मिलाउन सुरुमा त मलाई पनि सारो नै पर्‍यो । मेरा श्रीमान् पहिलो पटक विदेश जाँदा गर्भवती थिएँ । घरमा लेखबेँसी गर्ने चलन थियो । सासु गाउँमा बस्नुहुन्थ्यो । म चाहिँ बेँसीमा । 

खेतीपाति र गोठालो जाँदा बच्चालाई एक्लै छाडेर जान्थें । मैले त यता सबै मिलाएकै हुँ । तर मलेसियामा उहाँलाई राम्रो भएन छ । एक वर्षमा नै फर्किनुभयो । 

मलेसियामा राम्रो नभए पनि विदेश नै जाने उहाँको सोच फेरिएन । सन् २००८ मा फेरि साउदी जानुभयो । श्रीमान् साउदीमा हुँदा पनि मैले घर आफैले चलाएँ । मलेसियामा भन्दा त कमाई अलिक थियो क्यारे साउदीमा । तर मैले घरखर्चका लागि उहाँलाई दुःख दिइन । 

गाउँघरमा खेतीपाति गर्‍यो । बाख्रा, कुखुरा, सुंगुर पाल्यो त्यही बेच्दा खर्च पुगिहाल्ने । झण्डै तीन वर्ष जस्तो साउदी बस्नुभयो । फर्किएपछि देशमै केही गर्ने योजना बन्यो । अनि म पनि काठमाडौं आएँ । 

ललितपुरको थैवमा दुई रोपनी खेत भाडामा लिएर तरकारी खेति सुरु गरियो । मलाई त सहरको खेती गर्ने तरिका खासै थाहा थिएन । गाउँकै तरिका मात्र जानेको हो । श्रीमानले नै धेरै जस्तो काम गर्नुहुन्थ्यो । 

२०७० सालमा अहिले जस्तो थिएन बजार । तरकारी बेच्न टाढा लग्नुपर्ने । कहिले त टमाटर ५ रुपैयाँ किलोमा पनि बेच्न पर्‍यो । तरकारी त फलाइयो । तर भाउ पाइएन । बंगुर पनि पालेका थियौं । भूकम्प र नाकाबन्दी भएर पाठाहरु बिकेनन् । 

त्यसपछि श्रीमान् फेरि कतार जानुभयो । उहाँ कतार जाँदा मैले नै घरव्यवहार चलाएँ । छोराछोरी पढ्दै थिए । भाडामा लिएको खेत छाड्ने कुरा भएन । फले पनि नफले पनि तरकारी लगाइरहेँ । विस्तारै राम्रो हुँदै गयो । मौसम अनुसारको तरकारी लगाउँछु । फलेको बेलामा त श्रीमानले कतारमा कमाए जतिकै पो कमाई भयो । 

श्रीमानले कतारमा कमाएको र मैले यहाँ कमाएको हरहिसाब गर्दा कहिले त मेरै कमाईले पो जित्ने रहेछ । कहिले बराबरी हुने । फोनमा काम राम्रो भएन भन्नुहुन्थ्यो । कहिले त अहिले आउँछु, भोली आउँछु भन्ने । यता पनि दुःख गर्दा त हुन्छ भने किन अर्काको देशमा दुःख गर्ने आउनु भन्थे मैले पनि ।

गएको भदौमा श्रीमान् फर्किनु भएको छ । अब त यही केही गर्ने हो । अर्काको देशमा भनेको जस्तो नहुने रहेछ । दुःख गर्न मात्र किन जानु पर्‍यो र जस्तो पो लाग्छ अहिले त । जहाँ गएपनि राम्रो हुँदैन मात्रै भन्नुहुन्छ । मैले त पहिले पनि नजानु नै भनेको हो मान्नुभएन । 

यतिका वर्ष विदेश बस्दा पनि केही भएन । अब यही मिलेर केही गर्ने हो । तरकारी खेती नै गर्ने । अनि तरकारी बेच्न बजारमा पसल पनि आफैं खोल्नुपर्ला । गर्दा नहुने के छ र । 

(सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित । )

अन्तिम अपडेट: कात्तिक २८, २०७५

तपाईको प्रतिक्रिया