बाेक्सी अाराेपमा दलित महिलामाथि कुटपिट, ५० हजार जरिवाना र ५० हजारको भोज खुवाउन पञ्चायतको निर्देशन

 कात्तिक १८, २०७५ आइतबार १२:४१:२० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा –  एक दलित महिलामाथि बोक्सी आरोपमा पञ्चयतमै कुटपिटसँगै एकलाख जरिवाना गरेको घटना सार्वजनिक भएको छ । धनुषाको धनौजी गाउँपालिका २ बस्ने ३८ वर्षकी मनतोरियालदेवी मण्डल खत्वेलाई गएको कार्तिक ९ गते बोक्सी भन्दै कुटपिट गरेका हुन् ।

बोक्सी स्वीकार गर्न लगाई ५० हजार रकम  र भोज स्वरुप ५० हजार गरी पञ्चले १ लाख जरिवानासमेत गरेको पीडित मन्तोरियाले गुनासो गर्नुभयो । उहाँको पति इन्द्रजित मण्डल खत्वे वैदेशिक रोजगारीको शिलशिलामा दुवईमा हुनुहुन्छ । मन्तोरियालाई जेठाजु इन्दल मण्डल खत्वेले बोक्सी आरोप लगाएका थिए ।  इन्दलले बुहारी बोक्सी रहेको भन्दै पञ्चायत बोलाएर पञ्चायतमै सार्वजनिक रुपमै मन्तोरियालाई निर्घात कुटपीट गर्दै बोक्सी हो भनि स्वीकार गर्न लगाएका थिए ।

पञ्चायतमा खत्वे समाजका स्थानीय माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायत जेठाजु समेतले कुटपिट गरेको मान्तोरियाले बताउनुभयो ।

‘पहिला घरमा विवाद भयो । जेठाजु इन्दल, जेठानी मानकीदेवीलगायतले कुटपीट गरे, त्यसपछि जेठाजुले खत्वे समाजका पुरै पञ्चहरु बोलाउनुभयो । मलाई बोक्सी स्वीकार गर्न लगाए ।’ मन्तोरियाले दुखेसो पोख्दै भन्नुभयो ‘स्वीकार नगरेपछि  पञ्चायतमै लछाडपछाड गर्दै पञ्चहरुले हात, खुट्ट, मुक्काले शरिरको विभिन्न भागमा कुटपिट गरे । म विवश भएर स्वीकार गरेँ । पञ्चहरुले ५० हजार रकम र ५० हजारको भोज गर्नुपर्ने जरिवाना निर्णय गरे । जरिवाना नतिर्ने बताएपछि थप कुटपिट गरेर मलाई बेहोस बनाए ।

पञ्चहरु बेहोस बनाएर गएपछि छोरीले आफूलाई घरमा उठाएर लगेको मन्तोरियाले बताउनुभयो । चार छोराछोरीकी आमा मन्तोरियाले विदेशमा रहेका आफ्ना पतिलाई फोन गरेर आफूमाथि भएको घटनाको वृतान्त सुनाएपछि पतिले स्थानीय जनप्रतिनिधि कहा न्यायको लागि जान सुझाव दिनुभएको थियो । त्यसै अनुसार मन्तोरियादेवी धनौजी गाउँपालिका २ का वडाध्यक्ष राजकुमार साह कहाँ उजुरी गर्न जानुभयो ।

उहाँका अनुसार वडाध्यक्ष साहले समाजका पञ्चहरुले नै गरेको निर्णय स्वीकार गरी गाउँमै मिल्न सुझाव दिएका थिए । त्यसपछि गएको विहीबार जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दोषीहरुमाथि कार्वाही र न्यायको माग गर्दै मन्तोरियाले उजुरी दर्ता गराउनु भएको छ । सेवा केन्द्रकी प्रमुख दीपीका ओझाले मन्तोरिया कुटपीट घटनाको ठाडो उजुरी कर्यालयमा दर्ता भएको बताउनुभयो ।

जल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले आफूलाई यस घटना विषयमा केही जानकारी नरहेको बताउनुभयो । यदि घटना भएको भए बुझेर कार्वाही प्रक्रिया अगाडि बढाउने उपरीक्षक थपलियाको भनाई छ ।

यस विषयमा पीडित मन्तोरियादेवीले यस घटनाका विषयमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई जानकारी गराउँदै न्यायको लागि पहल गरिदिन गुहार गर्नुभएको छ । मन्त्री यादवले घटनाको जानकारी लिएपछि यस विषयमा सत्यतथ्य पत्ता लगाएर यस्तो घटनामा संलग्न दोषीमाथि तुरन्त कार्वाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया