नेपाल आइडल बुद्ध लामाको ‘रातो टिका’ सार्वजनिक

 कात्तिक १८, २०७५ आइतबार १२:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्ध लामालाई मेलिना राईले साथ दिएकी छन् । 

चर्चित डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई हास्य टेलि चलचित्र भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् । 

नेपाल आइडल भए पश्चात् नेपाली गीतसंगीतमा बुद्ध लामाको दमदार उपस्थिती नभएको गुनासो आइरहेको समयमा आफूले त्यस कुरालाई सम्बोधन गर्नका लागि यो गीत निकालेको बुद्धको भनाई रहेको छ । उनले  आफू नेपाल आइडल भए पनि सोचे अनुसार काम गर्न नपाएको गुनासोसमेत गरे । 

यता संगीतकार बसन्त सापकोटाले बुद्ध लामाले नेपाल आइडलको ट्यागबाट माथि उठ्दै सिर्जनाको कारण चिन्ने अवस्था आउनु पर्ने भन्दै यस गीतले केही हदसम्म साथ दिने बताए । 

‘रातो टिका निधारमा टल्क्यो टल टल’ बोलको गीतलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफ गरेका हुन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया