क्यान्सर के हो, कसरी बच्ने ?

 बैशाख २४, २०७५ सोमबार ८:३६:२९ | अर्जुन पोख्रेल
unn.prixa.net

क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो । क्यान्सर किन हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भनेर उज्यालो सहकर्मी विना न्यौपानेले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विशेषज्ञ, डा. आविश अधिकारीसँग कुराकानी गर्नुभएको छ :

सबैले बुझ्ने भाषामा क्यान्सर भनेको के हो ?

क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ ।  अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।

क्यान्सर लाग्ने कारण के के हुन्   ?

सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन् । हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो ।

नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षणहरू के के हुन् ?

क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ  । अरु लक्षणहरु  यस्ता छन् :

  • कमजोरी हुने र तौल घट्ने 
  • शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने
  • छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने 
  • मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने
  • खाना निल्दा दुख्ने र स्वर फेरिने
  • सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने
  • लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने 
  • कारण पत्ता नलागेको ज्वरो आइरहने
  • दिसामा रगत देखिने हुन्छ ।  

क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?

यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ :

  • सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने
  • पान सुपारीहरु नखाने
  • अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने
  • अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने 
  • सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।
  • अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।

चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त  ?

क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ । 

क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त ?

  • तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने 
  • आयुर्वदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने 
  • क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ  त ?

नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो छ । रोगीहरूको सँख्या बढिरहेको छ, सरकारले सूर्तिजन्य पदार्थको उत्पादन र बेचबिखनमा रोक लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन् । त्यसैले क्यान्सर लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनेतिर लाग्नुपर्छ ।

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया