दार्जिलिङपछि काठमाडौंमा ‘लभ स्टेशन’

 कात्तिक १८, २०७५ आइतबार १४:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चलचित्र लिली विलीबाट लोकप्रियता हासिल गरेका जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित अर्को चलचित्र लभ स्टेशनको यतिबेला काठमाडौंमा छायाकंन भइरहेको छ ।

यो चलचित्रको दुई ओटा गीत बाहेकको बाँकी छायाकंन तिहार अघि नै काठमाडौंमा सकिँदैछ । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायाकंन सकेर दसैँलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो ।

एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाकंन सकेर चलचित्र ‘लभ स्टेशन’को युनिट २ दिन अघि काठमाडौं आएको हो ।

काठमाडौंको बाँकी १० प्रतिशत छायाकंन यतिबेला भइरहेको छ । तिहारसम्ममा काठमाडौंको छायाकंन सम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताएका छन् । चलचित्रको १२ आसोजबाट दर्जिलिङदेखि छायाकंन सुरु गरिएको थियो ।

‘हामीले लक्ष्मी पूजासम्म झण्डै ९० प्रतिशत छायाकंन सक्दैछौं । अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै चलचित्रको छायाकंन सम्पन्न गर्नेछौं ।’

निर्माता शाहीले भने, ‘हामीले तोकेको निर्धारित ४५ दिनभित्रै चलचित्रको सम्पूर्ण छायाकंन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देशव्यापी सिनेमा हलमा रिलिज गर्नेछौं ।’ यो चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो ।

जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् । यस्तै अभिनेता प्रदीपले यो पारिवारीक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा लभ स्टेशन केही पृथक बन्ने बताएका छन् । अहिलेसम्मको काम प्रशंसनीय भएको यी अभिनेताको भनाई छ ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाकंन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया