विराटनगर नाकाबाट भित्रियो रेल

 कात्तिक १८, २०७५ आइतबार १८:२०:१४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परीक्षण सफल भएको हो ।

बथनाहा–कटहरी १८ किलोमिटर दूरीमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परीक्षण गरिएको थियो । रेल मार्गको परीक्षणसँगै बथनाहा–बुधनगरको ८ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भएको जोगबनी–विराटनगर रेलमार्ग परियोजना इर्कनका एजीएम अश्विनीकुमारले बताउनुभयो ।

नेपालतर्फ ३ किलोमिटर र भारततर्फको ५ किलोमिटर दूरीमा परीक्षण सफल भएको छ । बुधनगरमा बन्दै गरेको एकीकृत भन्सार जाँच चौकीसँगै जोडिएको नेपाल कष्टम यार्डसम्म १३१०२ डब्लुडीजी ३ ए को इञ्जिन रोलिङ नेपाली र भारतीय झण्डा राखेर झण्डै एकघण्टामा आइपुगेको हो ।

नियमित रेल सञ्चालनमा यो दूरी जम्मा १५ मिनेटमा पार गरिसक्ने छ । रेलमार्ग परियोजना इर्कनले गरेको परीक्षणमा नेपाल र भारतका सरकारी अधिकारी नभएपनि विराटनगर–१८ का वडाध्यक्ष सन्जयकुमार साहले आफ्नै वडामा रेल आउँदा स्थानीयसहित नेपाली झण्डाले स्वागत गर्नुभएको थियो ।

भारतीय ३ सय ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले अहिलेसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको उक्त कम्पनीले जनाएको छ ।

भेडियारीसम्म रेलको नियमित सञ्चालनको लागि भने अझै ४५ दिने लाग्ने निर्माण कम्पनीले जनाएको छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग बिस्तार गर्ने समझदारी भएको थियो ।

निर्माणको क्रममा लागेको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले बेहोर्ने समझदारी भएको थियो । समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याइपुर्‍याउनु पर्ने भए पनि विराटनगर–जोगबनी रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद, विभिन्न राजनीतिक आन्दोलनको असर लगायतले समयमै निर्माण हुन भने सकेको छैन । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया