पाँच रुपैयाँ जोगाएर के हुन्छ भन्नेहरु अहिले महिनामा ७ हजार जम्मा गर्छन

 कात्तिक १९, २०७५ सोमबार १२:५०:४ | मेरो कथा मेरो भोगाई

पूर्णकला विश्वकर्मा

म अहिले नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा हिमालयन सामुदायिक विकास मञ्चले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजनाको वित्तीय साक्षरता सहजकर्ताका रुपमा काम गरिहेको छु । 

मैले यो काम गरेको ३ वर्ष भयो । हामीले कुसुण्डेमा नयाँ सोच वित्तीय साक्षरता कक्षा भनेर नाम राखेर कक्षा सुरु गर्‍यौं । २१ जना सहभागी भएको कक्षाको २८ हप्ता पुरा भइसकेको छ । 

नियम अनुसार कक्षा सकिएको छ । सहभागी सबै २१ जनाकै व्यवहार फेरिएको छ । उहाँहरु कक्षाको सुरुमा आउँदा घरको काम बाहेक अरु केही गर्नुहुन्नथ्यो । गर्नेहरुले पनि व्यवसायिक रुपमा केही गर्नुभएको थिएन । 

वित्तीय साक्षरता कक्षा भनेकै थोरै थोरैलाई बचाएर कसरी धेरै बनाउन सकिन्छ अनि हामीले देख्ता साना लाग्ने कामबाट कसरी कमाउन सकिन्छ भनेर सिकाउने कक्षा हो । त्यही अनुसार मैले तिनै कुरा सुनाउँदा उहाँहरुले सुरुमा पत्याउनु नै भएन । उहाँहरु ५/१० रुपैयाँ अनि सय पचास जम्मा गरेर कहिले के गर्न सकिन्छ भन्नुहुन्थ्यो ।

तर कक्षा अघि बढ्दै जाँदा उहाँहरुको सोच फेरियो । हामीले भनेको सुनेर अनि किताबमा भएका पाठ पढेपछि उहाँहरुमा हुटहुटी सुरु भयो । हामीले चाहिँ कहिले यस्तो गर्ने होला भन्न थाल्नुभयो । उहाँहरुको त्यो व्यवहारले मलाई कक्षा अघि बढाउन सहज भयो । 

त्यति मात्रै होइन उहाँहरुले त्यही हुटहुटीले कक्षा आधा पुग्दासम्ममा केही न केही सुरु गर्नुभयो । कसैले कुखुरा पाल्नुभयो । कसैले किराना पसल सुरु गर्नुभयो । अनि धेरैले चाहिँ चटपटे बेच्न थाल्नुभयो । लगानी पनि धेरै गर्नु नपर्ने अनि खटाइ पनि त्यति धेरै नहुने भएकाले उहाँहरुले त्यो काम रोज्नुभयो ।  

त्यति मात्रै होइन यही कक्षामा बसेपछि उहाहरुले बचत गर्न पनि सिक्नुभयो । त्यही राम्रो बानीले कक्षाको सुरुमा ५/१० रुपैयाँ जम्मा गरेर कहिले के हुन्छ र भन्नेहरुले नै अहिले महिनाको ७ हजारसम्म बचत गरिरहनुभएको छ । 

अनि सहभागीहरुले परिवारमा कामको बाँडफाँड, परिवार व्यवस्थापनको कुरा पनि बुझ्नु र सिक्नुभएको छ । जसले उहाँहरुको परिवार पनि पहिलाको भन्दा व्यवस्थित हुँदै गएको छ । 

(पूर्णकला विश्वकर्मासँग मोहन पौडेलले गर्नुभएको कुराकानीमा आधारित) 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया