बर्दियाको ठाकुरबाबा नगरपालिकाका विद्यालय व्यवस्थापन समिति भंग गर्न पत्राचार

 जेठ २६, २०७५ शनिबार २०:४७:३३ | उज्यालो सहकर्मी

बर्दिया - बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समिति भंग गरेको छ ।

विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्नका लागि भंग गरिएको मेयर घननारायण श्रेष्ठले जानकारी दिनुभयो । 

माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहतमा गएसँगै विद्यालयको गुणस्तर बढाउन समिति पुनर्गठन गर्न आवश्यक देखिएकाले सबै विद्यालयलाई पत्राचार गरिएको मेयर श्रेष्ठले बताउनुभयो । 

बर्दियाका ८ वटा स्थानीय तहमध्ये मधुवन नगरपालिका, बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाले आफ्नो नगरक्षेत्रका विद्यालय व्यवस्थापन तत्काल भंग नगरिने बताएका छन् । 

बाँकी एक नगरपालिका र दुई गाउँपालिकामा भने भंग गर्ने नगर्नेबारे निर्णय गर्न छलफल भइरहेको छ ।

केही अभिभावक तथा शिक्षाप्रेमीले भने कार्यव्यस्ततामा रहने जनप्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु उपयुक्त नहुने बताएका छन् । 

एउटै वडामा ५ वटासम्म सामुदायिक विद्यालय भएको र सबै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जनप्रतिनिधि हुने प्रावधान कार्यान्वयन भए विद्यालयको शैक्षिक गुणस्तर घट्ने उनीहरुको दाबी छ ।  

स्थानीय सरकार सञ्चालन ऐनमा सामुदायिक विद्यालयका ब्यवस्थापन समिति जनप्रतिनिधिको नेतृत्वमा गठन हुने प्रावधान रहेकाले त्यसको कार्यान्वयन गरिएको मेयर श्रेष्ठको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया