राष्ट्रपति जलपान समारोहमा सहभागी

 कात्तिक १९, २०७५ सोमबार १८:३४:११ | रासस
unn.prixa.net

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी तिहार, छठ एवम् नेपाल संवत् ११३९ का उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार आयोजना गर्नुभएको शुभकामना आदानप्रदान तथा जलपान समारोहमा सहभागी हुनुभएको छ ।

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत उपस्थित हुनुहुन्थ्यो ।

विभिन्न राजनीतिक दलका नेता, प्रदेश नम्बर ३ का प्रमुख, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, प्रदेशसभा सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख समारोहमा सहभागी हुनुभयो ।

सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी, मानवाधिकारकर्मी, कलाकार, पत्रकारलगायत समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिको पनि समारोहमा सहभागिता थियो ।

समारोहमा उपराष्ट्रपति पुनबाट तिहार, नेपाल सम्बत, नयाँ वर्ष तथा छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहे–बसेका नेपालीको शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको सन्देश उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले पढेर सुनाउनुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया