पर्वतमा ठूलो परिमाणमा लागुऔषधसहित २ युवा पक्राउ

 कात्तिक १९, २०७५ सोमबार १९:१:३१ | सन्तोष थापा

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले ठूलो परिमाणमा लागुऔषधसहित २ युवालाई पक्राउ गरेको छ । 

प्रहरीले कुश्मा नगरपालिका –६, गोविन्द पथमा बस्दै आएका दिनेश पुन कोठाबाट सोमबार लागुऔषध बरामद गरेको हो । 

प्रहरीले मोदी गाउँपालिका वडा नं. ४ क्याङ घर भई हाल कुश्माबजारमा बस्दै आएका २२ वर्षीय दिनेश पुनको कोठाबाट विभिन्न प्रकारका १ सय २२ थान लागुऔषध, गाँजा र चरेससमेत बरामद गरेको हो । साथै प्रहरीले १९ वर्षीय युवा सुरज पुनलाई समेत नियन्त्रणमा लिएको छ ।  

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पुनको कोठाबाट नरपिन ३५ एम्पुल, थेनेरेगेन ४४ एम्पुल, डाइजोपाम ३९ एम्पुल, कालजेसिक ४ एम्पुल र नगद १६ हजार ३ सय ३५ रुपैँया बरामद गरेको हो । उनीहरुको साथबाट प्रहरीले केही मात्रामा गाँजा र चरेस पनि बरामद गरेको छ । 

पक्राउ परेका दुवै जनालाई लागुऔषध ओसारपसार ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया