कांग्रेस विधान मस्यौदा समितिमा विवाद

 कात्तिक १९, २०७५ सोमबार १९:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेस पार्टीको विधान संशोधन मस्यौदा समितिमा विवाद सुरु भएको छ ।

मंगलबार बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पेश गर्ने भनिएको विधान संशोधन मस्यौदा प्रतिवेदनको अन्तिम तयारीमा लागि सोमबार बसेको विधान मस्यौदा समितिको बैठकमा विधानको प्रस्तावनाकै विषयमा समेत नेताहरुबीच विवाद देखिएको हो ।

विधान मस्यौदाको प्रस्तावना, संगठन संरचनालगायतका विषयहरुमा विवाद देखिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले स्विकार गर्नुभयो । उहाँले उपसमितिले तयार पारेको मस्यौदामा समितिका सदस्यहरुबीच विवाद देखिएकाले भोलि बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेश हुने, नहुने टुंगो नभएको पनि जानकारी दिनुभयो ।

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे बोलाइएको थियो । तर बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन भने पेश हुन सम्भावना टरेर गएको छ ।

नेपाली कांग्रेसले आउँदो मंसिर ५ गतेदेखि नौं गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो । तर महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिनपछि सार्ने गरी केन्द्रीय कार्य समिति बैठक बोलाइएको हो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया