पोखरा क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग गर्ने प्रचण्डको आश्वासन

 कात्तिक २०, २०७५ मंगलबार १५:५८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – सत्तारुढ  दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

पोखरा प्रिमियर  लिग क्रिकेटको फाइनलका प्रमुख अतिथि प्रचण्डले पोखरा पर्यटकीय शहर मात्र नभएर क्रिकेटको शहरको रुपमा विकास भइसकेको भन्दै स्तरीय रंगशाला निर्माणका लागि सरकारसँग माग गर्नुभएको हो ।

उहाँले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो । राष्ट्रिय टोलीका कप्तान र उपकप्तान सम्मिलित आयोजक संस्थाबाट यति ठूलो र भव्य प्रतियोगिता सम्पन्न भएकोमा उहाँले बधाइ दिनुभयो र भविष्यमा निरन्तरताको अपेक्षा पनि गर्नुभयो ।

नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र अनुशासन कायम गर्न खेलको सबैभन्दा महत्वपूर्ण भूमिका रहने भन्दै खेलको माध्यमबाट राष्ट्रिय समृद्धि हासिल गर्नेतर्फ सोच्ने बेला भएकोसमेत बताउनुभयो ।

फाइनल खेलबारे टिप्पणी गर्दै प्रचण्डले भन्नुभयो, ‘प्रमुख अतिथिको रुपमा सबैभन्दा तटस्थ दर्शक म नै थिएँ होला । किनभने मेरो जन्म स्थान (पोखरा) र कर्मस्थान (चितवन) उपाधिका लागि भिड्दै थिए ।’ उहाँले थप्नुभयो, ‘मेरा लागि जसले जिते पनि उस्तै रह्यो । यद्यपि पोखरालाई बधाई दिन चाहन्छु ।’
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया