ओखलढुंगाको मानेभञ्ज्याङमा आगलागी  :  चार घर जलेर नष्ट, एक जना घाइते

 कात्तिक २०, २०७५ मंगलबार १७:४८:४८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – मानेभञ्ज्याङ गाउँपालिका वडा नं. २, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । 

आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका दुवै हात सामान्य जलेका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको स्थानीय बासिन्दाले बताएका छन् । 

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैँसी जलेका छन् । त्यस्तै जितमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् । 

मंगलबार बिहान ११ः३० बजे सुरु भएको आगो अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी राजिव श्रेष्ठले बताउनुभयाे । घटनास्थल प्रहरी चौकीबाट १० किलोमिटर टाढा रहेकाले तत्काल प्रहरी पुग्न कठिन भएको थियो । स्थानीय र प्रहरी समेतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । 

आगाले ८० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागी पीडितहरु छिमेकी र आफन्तको सहारामा बसेका छन् । पीडितहरुलाई स्थानीय सरकार र सरोकारवाला निकायमा राहत दिलाउन पहल गरिने वडा अध्यक्ष उमेश कार्कीले बताउनुभयो । बच्चाले आगो खेल्दा सुरु भएको आगलागीले चार परिवारका घर तथा गाईवस्तुका गोठ र पशु चौपाया मरेका हुन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया