तीनै सरकारबीच आपसी समन्वय नहुँदा सोचेजस्तो विकास भएन : मुख्यमन्त्री गुरुङ

 कात्तिक २०, २०७५ मंगलबार १९:६:१८ | श्यामशितल परियार
unn.prixa.net

कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सोचेजस्तो विकास गर्न नसकेको बताउनुभएको छ ।

पर्याप्त स्रोत–साधन नभएको साथै स्थानीय, प्रदेश र संघीय सरकारबीच आपसी समन्वय नहुँदा सरकारले सोचेजस्तो विकास गर्न नसकेको उहाँले बताउनुभएको हो । लमजुङको सुन्दरबजार–६, खत्रीठाँटीमा सञ्चालित दोस्रो खत्रीठाँटी खुल्ला रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले समस्याको हल गर्न सरकार लागिपरेको समेत उल्लेख गर्नुभएको छ ।

‘श्रोतसाधनको कमीका साथै स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नहुँदा सोचेजस्तो विकास हुन सकेको छैन । निकट भविष्यमै यो समस्या समाधान हुन्छ,’ उहाँले थप्नुभयो । फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्ग अन्य जिल्लामा विवाद नभएको बताउनुभयो । लमजुङमात्रै विवाद रहेकाले सडक निर्माण कार्य ढिलाइ भएको बताउनुभयो । मध्यपहाडी लोकमार्गलाई भाग्यका र अवसरको रुपमा लिन उहाँले स्थानीयलाई आग्रह गर्नुभएको छ ।

‘भाग्य र अवसर सधैँ आउँदैन । विवाद गरी लोकमार्ग अघि बढ्न नदिनु विकासलाई वर्षौ पछाडि धकेल्नु हो । त्यसैले सुन्दरबजारबासी भाग्य छोप्नतर्फ लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । स्थानीय आपसमा मिलेर नआए सरकारले बल प्रयोग गरेर पनि लोकमार्ग निर्माण कार्य अघि बढाउन सक्ने उहाँको संकेत थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया