तामाकोशीको आईपीओ : ६ अर्ब ७० करोडको आवेदन

 कात्तिक २०, २०७५ मंगलबार १९:५९:४५ | रासस
unn.prixa.net

माथिल्लो तामाकोशी जलविद्युतकाे मुख्य अफिस

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् ।

कम्पनीले मंगलबार साँझ उपलब्ध गराएको अन्तिम विवरणअनुसार ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार केही आवेदन भने रद्द हुने देखिएको छ । नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका केही शेयर आवेदन भने रद्द हुनेछ ।

कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका थिए । शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ । 

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । बढी कित्ता आवेदन गर्नेले न्यूनतम ४५ कित्तासम्म शेयर पाउन सक्ने देखिन्छ । कम्पनीले आगामी दुई साताभित्र शेयर बाँडफाँड गर्ने तयारी गरेको छ । 

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया