आजदेखि अनलाइनबाटै शेयर कारोबार, अब दलालकोमा धाउनु नपर्ने

 कात्तिक २०, २०७५ मंगलबार २०:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली सुरु भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अनलाइन प्रणालीको उद्घाटन गर्दै शेयर बजारमा पूर्वाधारहरुको विकास गर्नु पर्नेमा जोड दिनुभयो । 

मंगलबारबाट अनलाइन प्रणाली सुरु भएसँगै अब शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हटेको छ । अब आफ्नो युजरनेम र पासवर्डका आधारमा जहाँबाट पनि अनलाइनमार्फत शेयरको किनबेच गर्न सकिने नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएको छ । 

धितोपत्र दलाल अर्थात ब्रोकरको कार्यालयबाट कारोबार गर्न युजर नेम र पासवर्ड लिनुपर्छ । यसका लागि व्यक्तिगत विवरण, मोबाइल नम्बर र इमेल ठेगाना ब्रोकर कार्यालयमा बुझाउनुपर्छ । अनलाइन प्रणाली लागू भएपछि शेयर कारोबारमा नागरिकको पहुँच बढ्नुका साथै शेयर कारोबार अन्तराष्ट्रिय स्तरको बनाउन सहयोग पुग्ने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

अनलाइन शेयर कारोबार सुरु भए पनि नेप्सेको साइट नचलेका कारण आज लगानीकर्ता प्रभावित भएका छन् । मंगलबार शेयर कारोबार भए पनि नेप्से परिसूचकसँगै कारोबारका कुनै पनि जानकारी सार्वजनिक नहुँदा लगानीकर्ता अन्यौलमा रहे । 

नेप्सेको साइटमा आएको समस्या समाधान भए पनि मंगलबारको कारोबारको विवरण सार्वजनिक हुनेछ । तिहार बिदाका कारण अब आइतबार मात्र शेयर कारोबार हुने छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया