‘प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाइने’

 कात्तिक २१, २०७५ बुधबार ७:२:२७ | रासस
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।

प्रदेश नं ३ को नीति तथा योजना आयोगले बुधबार आयोजना गरेको गोष्ठीमा उहाँले प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, मानव संसाधन अगाडि रहेको प्रदेश भएकाले भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले कानून निर्माण, नीति निर्माण र कार्यविधि निर्माणको प्रक्रियाले प्रदेश सरकारको काम नदेखिए पनि अब नागरिकको अपेक्षालाई छिट्टै पूरा गर्ने आफूले काम गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल कम्युष्टि पार्टीका नेत्री तथा ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले आफूले प्रदेश सरकारलाई सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने र पार्टी अध्यक्षद्वयसँग सल्लाहसमेत गरिसकेको बताउनुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा मानव स्रोतसाधनको अभाव हुँदाहुँदै पनि धेरै कानून निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा कानून निर्माण गर्दा विज्ञहरुको परामर्शलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो ।

प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको र आगामी बन्ने योजनामा आर्थिक पारदर्शिता, उत्पादन पक्ष र दिगो विकासको पक्षमा काम गर्ने निकायलाई बजेट निर्माण गर्दा उच्च प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

प्रदेशको विकासका लागि मुख्य आधार प्राकृतिक स्रोत र सम्पदा भएकाले आगामी दिनमा प्रदेशलाई समृद्धिको उचाइमा पुर्‍याउने उद्देश्यले योजना निर्माण गर्ने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया