देउवाका कारण कांग्रेस दुर्घटनामा पर्‍याे, अब नयाँ नेतृत्व ल्याउछौँ – अर्जुननरसिंह केसी

 कात्तिक २१, २०७५ बुधबार ७:३७:५१ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौं – आन्तरिक विवाद चर्किंदा नेपाली कांग्रेस केन्द्रीय समिति बैठक समेत बस्नमा ढिलाई भइरहेको छ ।

केन्द्रीय समिति बैठक बस्न नसक्दा भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विधान पारित भएको छैन । विधान पारित नहुँदा नेविसंघको आगामी महाधिवेशन नै अन्यौलमा परेको छ ।

त्यससँगै विधान संशोधनको काम सकिएको छैन भने अनुशासन समिति र संसदीय समिति गठन हुन नसक्दा कांग्रेसका गतिविधिहरु ओझेलमा परेका छन ।

कांग्रेसको आन्तरिक विवाद र गुटगत राजनीतिका विषयमा विष्णु विश्वकर्माले कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग गरेको कुराकानीको सम्पादित अंश  :

केन्द्रीय समिति बैठक बस्न किन ढिलाई भयो ?

दसैँपछि तिहार आइसक्यो । यस कारण केही ढिलाई भएको हो । अब चाँडै बस्छ । बैठकमा सबैभन्दा महत्वपूर्ण विषय विधानको संशोधन मस्यौदाबारे छलफल हुनुपर्ने हो । तर समितिले नै विधानलाई अन्तिम रुप दिई नसकेको हुनाले बैठक बस्नमा केही ढिलाई भएको हो । अब त्यो काम पनि समितिले सकिसकेको जानकारी पाएका छौं ।

यसअघि केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । बैठक नबसेकै कारण नेविसंघको विधान पारित हुन सकेको छैन भने महाधिवेशन नै अन्यौलमा परेको छ नि ?

अब ढिला नहोला । किन भने मंसिर ५ देखि ९ गतेका लागि तोकिएको महासमिति बैठक सम्पन्न गर्नकै लागि तिहार अघिसम्म नै केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ ।

लगातार रातदिन नभनिकन बैठक नबसी महासमिति बैठक प्रभावित हुन सक्छ । यसअघि एक पटक महासमिति बैठक सारिसकिएको छ । अब कुनै हालतमा महासमिति बैठक सार्न हुँदैन ।

त्यसैले तोकिएकै समयमा महासमिति बैठक गर्नका लागि तिहारमा पनि बैठक बस्नुपर्ने आवश्यकता देखिएको छ । फेरि विधानलाई टुंगो लगाउनुपर्ने, नेविसंघको विधान पारित गर्नुपर्ने निकै महत्वपूर्ण विषय भएकाले पनि तत्कालै बैठक बस्नुपर्ने भएको छ ।

केन्द्रीय समिति बैठक रोकिनुका पछाडि अनुशासन समिति गठनको विवाद मुख्य कारण देखिन्छ । समिति गठन नगरिकन बैठक बस्न तपाईँ आफै, कृष्ण सिटौला, रामचन्द्र पौडेल लगायतका नेताहरु तयार हुनुहुन्न भन्ने सुनिन्छ । खास विवादको चुरो के हो ?

यो पनि हो । अनुशासन समिति जस्तो न्याय, विवेक र निष्पक्ष रहनुपर्ने समितिको गठन सहमतिमै हुनुपर्छ भन्ने हाम्रो धारणा हो । तर सहमति खोज्ने प्रयास भएको देखिँदैन ।

यो गुट, त्यो गुट भनेर भागबण्डा गर्नुहुन्न भन्ने हाम्रो जोड हो । सहमति खोजौं । व्यक्तिभन्दा पनि सहमतिपूर्ण निष्कर्षमा अनुशासन समिति गठन होस भन्ने हामी चाहन्छौं ।

पार्टी सभापति शेरबहादुर देउवाले समिति गठनमा सहमति गराउँनै चाहनु भएन ?

अहिलेसम्म सहमतिको प्रयत्न भएको मैले पाएको छैन ।

तर पार्टी सभापति देउवाले समिति गठनका लागि दुईजनाको नाम माग्दा रामचन्द्र पौडेल पक्षले दिएनन् भन्ने देउवा पक्षका नेताहरुको आरोप छ नि ?  

तीन जना दुईजना भन्दा पनि अनुशासन समिति अरु समिति जस्तो होइन । कसैलाई पनि मोहरा बनाएर कार्यकर्तामाथि आक्रमण गर्ने ठूलो षडयन्त्र र नियतहरु पनि हुन सक्छ ।  त्यसकारण सभापतिकै नजिकको व्यक्ति समिति संयोजक भएपनि कम्तीमा व्यक्तिमा सहमति त खोजौं ।

यो व्यक्ति, त्यो व्यक्ति, यो गुट, त्यो गुटभन्दा पनि सबैले मान्ने व्यक्तिलाई समिति संयोजक बनाऔं भन्ने हाम्रो जोड हो । यसो गरियो भने मात्रै समितिले विवेकले काम गर्छ, न्याय दिन्छ, न्यायिक निर्णयको प्रक्रियामा विधिसम्बत ढंगले परिचालन हुन्छ भन्ने हाम्रो विश्वास हो । त्यसैका लागि सहमति खोजौ भन्ने हाम्रो भनाई हो ।

एउटा समिति गठनको विवादले केन्द्रीय समिति बैठक नबस्नु लज्जाको विषय भएन र ?

लज्जाको विषय मान्नु पर्ने केही कारण छैन । यस्ता किसिमका समितिहरु गठन विघटनका प्रक्रियामा केही मतभेदहरु हुन्छन । यो विगतमा पनि हुन्थ्यो, अहिले पनि छ, भोलि पनि हुन्छ ।

तर केन्द्रीय समिति बैठक नबस्दा नेविसंघको महाधिवेशन नै हुन्छ कि हुँदैन भन्ने चिन्ता बढेको छ । यसले पनि केन्द्रीय समिति बैठकमा ढिलाई गर्नुहुन्न भन्ने मेरो दृष्टिकोण हो ।

त्यसो भने पार्टी सभापतिकै कारण केन्द्रीय समिति बैठक बस्न सकेन ?

म अहिले झण्डै २१ वर्षदेखि केन्द्रीय कार्यसमितिमा रहँदै आएको छु । भ्रातृ संस्थाहरुको विधान भ्रातृ संस्थानहरुले नै निर्माण गर्ने र त्यसको स्वीकृति केन्द्रीय समितिले दिने भन्ने छ । तर त्यही विधान भ्रातृ संस्थाले सर्वसम्मत ढंगले पारित गर्दा केन्द्रीय समितिमा ‘नोट अफ डिसेन्ट’ राखिन्छ ।

भ्रातृ संस्थाहरुले सर्वसम्मत पारित गरेको विधान पन्छाएर अर्को विधान प्रस्तुत गर्दा पनि अहिले अप्ठ्यारो सिर्जना भएको हो । त्यसैकारण अनुशासन समिति, संसदीय समिति गठन हुँदा नै छलफल र सहमति खोजौं भन्ने मेरो जोड हो ।

यसअघि पटक–पटक बस्न नसकेको, बसे पनि विषयमा प्रवेश नगरेको तर अब बस्ने केन्द्रीय समिति बैठकले विधान संशोधन, नेविसंघको विधान पारित गर्न सक्ला ?

पार्टीभित्र वादविवाद र गुट उपगुट हुन्छन् । तर सिद्धान्त, प्रक्रिया र पार्टीको संस्थागत ढंगबाट विवादित विषय टुंग्याउनुपर्छ ।

तिहारअघि नै यी विषय टुंगिन्छन ?

तिहार अघि नै यी विषयमा छलफल शुरु गरिहाल्नुपर्छ भन्ने मेरो धारणा हो । अब महासमिति बैठक फेरि पनि सार्ने, सर्ने कुराहरु आएका छन । तर बैठक सार्नुहुन्न भन्ने पक्षमा म छु ।

पार्टी सभापति देउवाले बैठकहरु आफू अनुकुल र आफ्नो चाहनाहरु बोलाउनुहुन्छ भन्ने तपार्इंहरुको गुनासो छ । यसपटक महासमिति बैठक पनि तोकिएकै समयमा हुन्छ भन्ने के ग्यारेन्टी ? तपाईहरुले जति नै अडान राखे पनि के हुन्छ र ?

अब देउवा जीलाई कसैले प्रभाव पार्न सकेको भए, उहाँलाई कसैले सहमति गराउन सकेको भए कांग्रेस यसरी ‘दुर्घटना’मा पर्ने थिएन । यो नाजुक अवस्थामा पुग्ने थिएन । मैले जे सोच्छु, जे गर्छु त्यही ठीक छ भन्ने उहाँको प्रवृत्ति छ ।

त्यसो भने कांग्रेस अहिले आएर प्रतिपक्षी दलमा खुम्चिनु देउवा नै कारण हुन् ? सबै दोष पार्टी सभापतिलाई मात्रै किन ?

म पार्टी सभापतिलाई मात्रै दोष दिन चाहन्न । तर फेरि सबैभन्दा बढी दोषी देउवा जी नै हो । दोश्रो नम्बरमा महामन्त्री, तेश्रो नम्बरमा पदाधिकारी र चौथो नम्बरमा म जस्ता संसदीय समितिका नेताहरु पनि दोषी हौ ।

जसले नीति निर्माणमा सहभागी हुन पाउँथे । तर मैले नै भन्नुपर्दा समानुपातिकको सूची नै थाहा नपाइकन गयो । संसदीय समितिलाई कुनै जानकारी र छलफलसम्म भएन । तर म पनि जिम्मेवार हुँ नि । त्यसैकारण एकहोरो दोषारोपण गरेर आफू उन्मुक्त हुन चाहन्न ।

तपाईँहरु दोष मात्रै दिने, नेतृत्वको विकल्प खोज्न डराउनुहुन्छ,  किन ?

हामी विकल्प खोज्छाैं । महाधिवेशन आएपछि विकल्प खोज्छौं । त्यसका लागि छलफल गरिरहेका छौं । विधिसंगत ढंगले पार्टी चल्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ ।

कांग्रेसले २०५१ मा चुनाव हारेकै हो । २०६४, २०७० र अहिले आएर २०७४ सालमा पनि चुनाव हार्यौं । अब २०७९ मा हामी कांग्रेसलाई पहिलो पार्टी बनाएर देखाउछौं । त्यसका लागि हामीले नेतृत्वको तयारी गरिरहेका छौं । आगामी महाधिवेशनबाट नयाँ नेतृत्व नै आउँछ ।

अबको डेढ वर्षपछि हुने महाधिवेशनमा अहिलेका शीर्ष नेताहरु पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलभन्दा तपार्इँं, बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइरालाले नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने चर्चा शुरु भएको छ । यो साँच्चिकै नेतृत्वका लागि नै हो कि चर्चाका लागि मात्रै हो ?

अहिले म यति भन्न चाहन्छु, नेतृत्वको चिन्ता नलिनुस् । हामी पार्टीभित्र जो सुधारवादी छौँ । अहिले हामी प्रत्येकले कुनै महत्वाकांक्षा लिएर म के हुन्छु भनेर होइन ।

अबको चार वर्षपछि पहिलो स्थानमा कसरी पुर्‍याउँछु भनेर सोचौं । एउटा त्यो निश्चित मिसन अर्थात लक्ष्य निर्धारण गरेपछि हामीमध्ये जो पनि हुन सक्छाैं । हामी सामूहिक निर्णय गर्छौं । 

अन्तिममा, तपाई आफै कुनैबेला शेरबहादुर देउवा पक्ष गुटसँग नजिक हुनुभयो । अहिले रामचन्द्र पौडेल पक्षसँग निकट हुनुहुन्छ । दुवै गुटले कांग्रेसलाई फाइदाभन्दा बढी घाटा पुगेको देखिन्छ । कांग्रेसको गुटगत राजनीति सुधार्न तपाईंको भूमिका के हुन्छ ?

म सकेसम्म संयोजन गर्छु । तर हिजो किसुनजी, गणेशमान र गिरिजाबाबुको हात मिलाए जस्तो समूह छैन अहिले । उनीहरु वास्तविक नेता थिए । उनीहरुलाई हामीले पितातुल्य रुपले सम्मान गथ्र्यौं ।

उहाँहरु धरहराको व्यक्तित्व हुनुहुन्थ्यो भने हामी पुड्के थियौं । तर अहिले जति छन्, हामी सबै समकालीन हौं । नीतिमा मिल्नुपर्छ । विचारमा मिल्नुपर्छ । प्रस्तावना मिल्नुपर्छ । व्यवस्थापनमा मिल्नुपर्छ । जोसँग पनि मिल्न तयार छु म त ।

तपाई त मिलि हाल्नु हुन्छ । दुई गुटलाई मिलाउन सक्नुहुन्छ कि सक्नुहुन्छ ?

म सबैको जिम्मा लिन त सक्दिन । तर कांग्रेस सुधारवादीहरुलाई मिलाउँछु । यो मेरो आश्वासन मात्रै होइन, विश्वास र प्रतिबद्धता पनि हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया